फाइल तस्वीर
काठमाडौं । संवैधानिक पदाधिकारीको नियुक्ति विरुद्ध अधिवक्ता डा. गणेश रेग्मीले दायर गर्नु भएको रिटमाथि आज शुक्रबार भएको सुनुवाइ हेर्दा हेर्दैमा राखिएको छ । उक्त रिटमाथि आगामी बुधबार सुनुवाइ हुनेछ । एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले निर्वाचन आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत विभिन्न ५२ संवैधानिक पदहरुमा नियुक्त गरेको थियो ।

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू मिरा खड़का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा रहेको संवैधानिक इजलासमा गठन गरिएको छ । शुक्रबार रिटमाथि बहस गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले रिटमाथिको सुनुवाइ अघि बढाउन माग गरेका थिए ।

न्यायाधीश हरि फुयाँलले २०७८ भदौ १७ गते जारी गर्नुभएको अन्तरिम आदेशका कारण संवैधानिक पदाधिकारीको नियुक्ति विरुद्धमा परेका मुद्दाको सुनुवाइमा अवरोध भएको भन्दै अर्यालले त्यो अवरोध खुलाउन समेत माग गर्नु भएको थियो ।

न्यायाधीश फुयाँलको एकल इजलासले भदौ १७ गते अधिवक्ता रेग्मीको रिट निवेदनमाथि सुनुवाइ गर्दै संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र त्यसका आधारमा भएको नियुक्ति सम्बन्धी मुद्दाको सुनुवाइ स्थगित गर्न आदेश दिनु भएको थियो ।