काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत शिक्षा तथा मानवस्रोत विकास केन्द्रले विद्यालयले लिने कक्षा १० सम्मको सम्पूर्ण परीक्षाहरु २०७९ वैशाख महिनामा मात्र सञ्चालन गर्न र वैशाखभित्र नै नतिजा प्रकाशन गर्न निर्देशन दिएको छ । आज मङ्गलबार जारी गरिएको सूचना अनुसार विश्वव्यापी रुपमा आक्रान्त पारेको कोरोना भाइरसको तेस्रो भेरियन्ट ओमिक्रोनको सङ्क्रमणका कारण विद्यालयको दैनिक पठनपाठनमा असर परेकोले शैक्षिक सत्र २०७८ को पठनपाठन, परीक्षा तथा २०७९ को नयाँ भर्नाको समय सीमा परिवर्तन भएको हो ।

शिक्षा तथा मानवस्रोत विकास केन्द्रले विद्यार्थीको पठनपाठनमा अधिकतम समय र विशेष प्राथमिकता दिन आवश्यक भएकाले शैक्षिक सत्र २०७८ को चैत मसान्तसम्मको पूरै समयावधिमा विद्यालयहरुले नियमित पठनपाठन सञ्चालन गर्न निर्देशन दिएको छ ।

यसका साथै, एसईई परीक्षा वैशाख ९ बाट सुरु हुने भएकाले स्थानीय तहले कक्षा ८ को परीक्षा पनि वैशाखमा नै अनुकुल समयमा सञ्चालन गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ । साथै, विद्यालयहरूले नयाँ शैक्षिक सत्र वैशाखमा नै सुरु गर्नुपर्ने र जेठ १ गतेबाट नियमित पठनपाठन पनि सुचारु गर्नुपर्ने भनी उल्लेख गरिएको छ ।