काठमाडौं – सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनभित्र कुनै खटपट नभएको र गठबन्धन दलबीचको तालमेललाई प्राथमिकता दिएर आगामी निर्वाचनमा जाने पार्टीको सोच रहेको बताउनुभएको छ । आज धनगढी विमानस्थलमा आयोजित एक पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले भन्नुभयो,‘‘पहिलो जोड आफ्नै तागतले निर्वाचन जित्ने गरी जानुपर्छ भन्ने हो, तालमेलको सम्भावना भयो भने गठबन्धनका दलहरुसँगको तालमेललाई नै प्राथमिकता दिएर जाने सोच छ ।’’

पार्टीको प्रशिक्षण कार्यक्रमका लागि आज बिहान धनगढी पुग्नुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सुदूरपश्चिम प्रदेश सरकारमा काङ्ग्रेस सहभागी हुने विषयमा छलफल भइरहेको बताउनुभयो । ‘काङ्ग्रेसको सहभागिता प्रदेश सरकारमा छैन । यो विषयमा बैठकमा कुरा भयो । तर, सरकारमा मन्त्रालय थप गर्न नसकिने भएकाले सबैभन्दा बढी मन्त्री भएको एकीकृत समाजवादीले नै त्याग गर्नुप¥यो भनेर अनुरोध गरिएको छ,’ उहाँले भन्नुभयो ।
प्रधानमन्त्रीले गठबन्धनलाई असर पार्ने कुरा नबोल्न भनेर केही दिन अघि आफ्नै दलका नेतालाई निर्देशन गर्नुभएको स्मरण गराउँदै अध्यक्ष दाहालले गठबन्धन दलका शीर्ष नेतृत्व गठबन्धनलाई अगाडि लिएर जाने कुरामा द्विविधामा नरहेको बताउनुभयो । सोहि प्रसङ्गमा अध्यक्ष दाहालले सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली काङ्ग्रेसलाई पनि सहभागी गराउने विषयमा छलफल भएको बताउनुभयो ।