काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहलाई ‘स्थानीय सरकार’ बनाउने व्यवस्था गर्न कुनै आपत्ति नरहेको बताउनुभएको छ । नेपाल नगरपालिका सङ्घको २९औं वार्षिकोत्सव समारोहमा प्रधानमन्त्री देउवाले यसका लागि सबै दलहरूबीच सहमति हुनुपर्ने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘स्थानीय तहलाई स्थानीय सरकार भन्न केही छैन, सबै पार्टीहरूको सहमतिमा यो काम गर्न गाह्रो छैन । तर महत्वपूर्ण कुरा सेवा प्रवाह हो । जनताका कामहरू स्थानीय तहले गर्नुपर्छ ।’ देउवाले स्थानीय तहका जनप्रतिनिधिहरूलाई जनताको दुःख हटाउने गरी काम गर्न आग्रह गर्नुभयो । उहाँले स्थानीय तहका गतिविधि हेरेर नै जनताले सरकारप्रतिको धारणा बनाउने बताउनुभयो ।

‘स्थानीय तह नै जनताको नजिकको सरकार हो । प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘स्थानीय तहका गतिविधिकै आधारमा जनताले सरकारप्रतिको धारणा बनाउने हो, त्यसैले जनताको मन जित्ने गरी काम गर्नुस् । जनताका दुःखकष्ट हटाइदिनुस् ।’ उहाँले सबै नगरपालिकाहरूलाई सहरको मौलिक पक्षमा नकारात्मक असर नपर्ने गरी स्वच्छ, सफा र सुरक्षित सहरको रुपमा विकास गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, मुख्य कुरा भनेको सेवा प्रवाह हो । जनताको दुःख हटाउने काम गर्नुहोस् । तह शब्द हटाइदिउँला । जनतालाई प्रत्यक्ष सहभागी गराएर विकास गर्नुहोस् । प्रधानमन्त्री देउवाले स्थानीय नीति निर्माण र कार्यान्वयनमा समेत जनतालाई सहभागी गराउन आग्रह समेत गर्नुभयो ।