फाइल तस्वीर
हेटौंडा– तीन महिनादेखि अनिश्चित बन्दै आएको बागमती प्रदेशसभा बैठक आज बस्ने भएको छ । गत पुस ८ गते स्थगित भएको प्रदेशसभाको बैठक करिब तीन महिनापछि आज बस्न लागेको हो ।

बैठक आज आइतबार दिउँसो १ बजेको लागि तय गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभाको नवौं अधिवेशनको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको निरन्तरको अवरोधका कारण झण्डै तीन महिनादेशि बैठक बस्न सकेको छैन । एमालेले विभिन्न माग राख्दै प्रदेशसभा अवरोध गरेपछि त्यस यता बैठक बस्न सकेको छैन ।

प्रमुख प्रतिपक्षी दल एमालेले सङ्घीय संसदको बैठक पनि झण्डै ७ महिनादेखि अवरोध गर्दै आएको छ । एमालेले निर्वाचन नहुँदासम्म प्रतिनिधिसभाको बैठक सञ्चालन गर्न नदिने पूर्वप्रधानमन्त्री एवंम् एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत मङ्सिरमा चितवनमा सम्पन्न महाधिवेशन पछि काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत् जानकारी गराउनु भएको थियो । संसद्का गतिविधि अगाडि बढाउन अवरोध खडा गरेपछि संसदले विजनेश समेत पाउन सकेको छैन । दर्जनौं विधेयकहरु संसदमा थन्किएर बसेका छन् ।

सङ्घीय संसदको अवरोधको छाँया बागमती प्रदेशसभा बैठकमा पनि देखिएको छ । प्रदेशसभाको बैठक चल्न नदिए पनि समय समयमा बैठक बोलाउन प्रयास गरेको थियो । प्रदेशसभाको बैठक बस्न पटक–पटक आह्वान गरिएता पनि एमालेको अवरोधका कारण सदन बस्न सकेको छैन । यसअघि सदन सञ्चालनको लागि सभामुख सानुकुमार श्रेष्ठको पहलमा फागुन ४ गते सर्वदलीय बैठक बसेर फागुन १६ गतेका लागि बैठक आह्वान गरिएको भए पनि बैठक बस्न सकेन । प्रदेशसभा सचिवालयले फागुन १४ गते नै एक सूचना जारी गरी विशेष कारण देखाउँदै बैठक स्थगित गरेको थियो ।

प्रदेशसभा बैठक अघि दिउँसो ११ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरिएको छ । उक्त बैठकले आज सदनमा पेश गर्ने कार्यसूची तय गर्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

आजको बैठक पनि सञ्चालन गर्न नदिने एमालेले रणनीति बनाएको छ । आफूहरूले राखेको मागअनुसारको जवाफ प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेबाट नआएसम्म सदन चल्न नदिने एमालेको योजना रहेको छ । सोही अनुसार आज बस्ने बैठकमा पनि सरकारको तर्फबाट पेश भएको जवाफ उचित नलागे पुनः संसद् अवरोध गर्ने पक्षमा एमाले रहेको छ ।

एमालेले वर्तमान सरकारले मन्त्रालय विभाजन गरेर ठूलो मन्त्रिमण्डल बनाएको, अघिल्ला सरकारका गौरवका योजनाहरू कटौती गरेको, योजना विहीन रूपमा रकमान्तर गरेको, मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको नेकपा एकीकृत समाजवादी पार्टीको कमिटी नबनेको स्थानमा बजेट दिन्न भन्ने अभिव्यक्ति प्रति एमालेले आपत्ति जनाउँदै सरकारको जवाफ माग सदन अवरुद्ध पार्दै आएको थियो । विगतका सरकारले ल्याएका योजनाहरू यथावत् रूपमा सञ्चालन गर्नुपर्ने र आफ्ना मागका सम्बन्धमा सरकारको उचित जवाफ नआएसम्म एमाले सदन चल्न नदिने बताउँदै सदन अवरोध गर्दै आएको छ ।

प्रदेशसभा बैठकमा प्रतिपक्षी दल एमालेको अवरोध कायम रहे संसद्को अधिवेशन अन्य गर्ने सरकारले तयारी गरेको छ । आफ्नो माग पूरा नभए संसद् अवरोध गर्ने एमालेको योजनापछि प्रदेश सरकारले पनि बैठक चल्न नदिए संसद् अधिवेशन नै अन्त्य गर्ने तयारी थालेको हो ।

प्रमुख प्रतिपक्षी दल एमालेले आजको बैठक पनि चल्न नदिए हाल चालु अवस्थामा रहेको हिउँद अधिवेशन नै अन्त्य गर्ने सरकारको योजना रहेको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनालले नवसञ्चार अनलाइनसँग कुरा गर्दै ‘एमालेको अवरोधका कारण पटक पटक बैठक स्थगित गर्नुपरेको र आइतबारको बैठकमा पनि एमालेले अवरोध गरेमा प्रदेशसभाको अधिवेशन नै अन्त्य गर्ने मन्त्री खनालले बताउनु भएको छ ।

यता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि मुख्यमन्त्री राजेन्द्र पाण्डेबाट चित्तबुझ्दो जवाफ नआए संसद् चल्न नदिने बताएको छ । एमालेले राखेको मागहरुलाई मुख्यमन्त्री पाण्डेले चित्तबुझ्दो जवाफ दखिएसम्म संसद् चल्न नदिने बताएको छ ।