काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी चुनावमा सत्तारुढ गठबन्धनका दलहरू मिलेर जाँदा प्रतिपक्षी दल नेकपा एमाले धूलोपिठो हुने दावी गर्नुभएको छ । धादिङको गल्छीमा आयोजित पार्टीको कार्यक्रममा नेपालले सत्तारुढ गठबन्धनका दलहरू मिलेर जाँदा सबै ठाउँमा जित्ने दावी समेत गर्नुभएको छ ।

उहाँले गठबन्धनमा रहेका सबै दलहरू चुनावमा तालमेल गरेर जाने विषयमा सकारात्मक रहेको र सबै दलले मिलेर जाऊँ भनिरहेको बताउनुभयो । ‘अहिले नेपाली काङ्ग्रेस, माओवादी र जसपाले हामीसँग भनिरहेका छन्, राजमोले पनि भनिरहेको छ– हामी मिलेर जाऊँ,’ नेपालले भन्नुभयो, ‘हामी मिलेर गयौं भने सबै ठाउँ जित्नेछौं, केपी ओलीको पार्टी धूलोपिठो हुनेछ । त्यो पार्टीको भविष्य खत्तम छ ।’

एकीकृत समाजवादीका अध्यक्ष नेपालले आफ्नै दम्भका कारण ओली सडकमा पछारिएको र आफूहरू देशको अगुवाइ गरिरहेको बताउनुभयो । ‘सबै ठाउँमा सरकारमा बसेका केपी ओली किन सडकमा पछारिन पुगे ? के गर्छस् मङ्गले आफ्नै ढङ्गले,’ उहाँले भन्नुभयो, ‘केपी ओली आफ्नै कुबुद्धिले, आफ्नै ढङ्गले, आफ्नै दम्भले गर्दा आज सडकमा पछारिएका छन् । हामी देशको अगुवाइ गरिरहेका छौं।’