फाइल तस्वीर

काठमाडौँ– संखुवासभामा बिहीबार बिहान भएको बस दुर्घटनाका घाइतेलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट धरान लगिएको छ।

घाइते पाँच जनालाई हेलिकप्टरबाट उपचारका लागि धरान लगिएको संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिए। डिएसपी सुवेदीका अनुसार घाइतेहरुको अवस्था गम्भीर छ। घाइते हुनेमा मादी–५ का सुवाष गोले, युवा पोख्रेल र मादी–६ का तुलसा कटुवाल, अम्बिका विक र डम्बरबहादुर कार्की छन्।

दुर्घटनामा १४ जनाले ज्यान गुमाएका छन्। बस दुर्घटनामा मृत्यु हुनेमध्ये १० जनाको पहिचान खुलेको छ। बस दुर्घटनामा मृत्यु हुने १० जना र घाइते पाँच जनाको पहिचान खुलेको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा सवारी चालक तेह्रथुमको औशीडाँडाका ३० वर्षीय विपीन निरौला, मादी–४ का सहचालक ३५ वर्षीय उमेश भट्टराई, मादी–५ का ४५ वर्षीय दीपक दाहाल, ५२ वर्षीय श्याम शेर्पा र ५५ वर्षीय भवानी दाहाल, मादी–६ का ३८ वर्षीय इन्द्रबहादुर अधिकारी, ३८ वर्षीय आइतबहादुर तामाङ, ३५ वर्षीया सविता राउत कार्की, मादी–६ कि अञ्जना कटुवाल र मादी–५ की दिशा कटुवाल रहेको डीएसपी सुवेदीले जानकारी दिए।

दुर्घटनामा मृत्यु भएका एक पुरुष, दुई महिला र एक बालकको पहिचान खुल्न बाँकी रहेको सुवेदीले बताए। बिहीबार बिहान साढे ७ बजे मादीको ओखरबोटे बजारबाट झापाको दमकतर्फ जाँदै गरेको ४ ख ७३५ नम्बरको बस दुर्घटनामा परेको थियो।

बस मादी–६ को सातघुम्ती नजिकै दुर्घटनामा परेको हो। बस सडकबाट करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ। बस तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने डीएसपी सुवेदीले बताए।