लमजुङ – लमजुङको सुन्दरबजार नगरपालिका क्षेत्रमा कर्फ्यू लगाइएको छ । सुन्दरबजार नगरपालिका ९ मा रहेको फ्युचरस्टार आवासीय विद्यालयमा कक्षा १० मा अध्ययनरत १८ वर्षीय विद्यार्थी सनिज श्रेष्ठको मृत्यु भएपछि सुन्दरबजार क्षेत्रमा कर्फ्यू लगाइएको हो ।

सुन्दरबजार नगरपालिका क्षेत्रमा आज बिहान ६ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यू लगाइएको स्थानीय प्रशासनले जनाएको छ । मर्स्याङ्दी नदीमा पौडी खेल्ने क्रममा १८ वर्षीय सनिज श्रेष्ठको मृत्यु भएको थियो । विद्यालयमा अध्ययनरत विद्यार्थीको मृत्युको विषयलाई लिएर उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गरी कर्फ्यू लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सुन्दरबजार नगरपालिका ७ पूर्वदक्षिणमा रहेको पाउदी पुल, पूर्वतर्फ राइनासबाट पाउदीतर्फ आउने मर्स्याङ्दी पुल, पश्चिमतर्फ सुन्दरबजार ९ मा रहेको मध्यमर्स्याङ्दी जलविद्युत् केन्द्रको आवास क्षेत्रको मुलगेट अगाडिको पक्की सडक र उत्तरतर्फ सुन्दरबजार ९ मा रहेको सिउडीबार चोकसमेत चार किल्ला भित्रको क्षेत्रमा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ उपदफा ३ अनुसार निषेधाज्ञा जारी गरिएको सूचनामा जनाइएको छ ।