साङ्केतिक तस्वीर
काठमाडौं – काठमाडौंको नागर्जुन नगरपालिका–६ स्थितरामकोटमा गए राति एकै परिवारका पाँचजनाले विष सेवन गरी आत्महत्याको प्रयास गरेका छन् । परिवारका सदस्य सबै अचेत अवस्थामा रहेकाले यस्तो घटना के कति कारणले घट्न पुग्यो भन्ने कुरा खुल्न नसकेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । एउटा ‘सुसाइड नोट’ लेखेर आत्महत्याको प्रयास भएको प्रहरीले जनाएको छ ।

विष सेवन गरेका मध्ये ३३ वर्षीय सुवर्णमान श्रेष्ठलाई अस्पतालले मृत घोषणा गरेको छ भने चारजनाको अवस्था गम्भीर रहेको र उनीहरुको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलमा विषाक्त औषधिको बट्टा फेलापारेको छ । प्रहरीले घटनास्थलबाट ‘सुसाइड नोट समेत बरामद गरेको छ । उक्त ‘सुसाइड नोट’ मा उनीहरूले पछिल्लो एक साताको दैनिकी लेखेका छन् । ‘सुसाइड नोट’ मा परिवारभित्रको मानसिक तनाव र आर्थिक सङ्कटबारे लेखेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीका अनुसार बेहोस अवस्थामा फेलापरेकाहरुमा ६२ वर्षीया इन्दिरामाया प्रधान, ३८ वर्षीय भीममान प्रधान, ३५ वर्षीया मन्दिरा प्रधान र ११ वर्षीया सुप्रिया प्रधानको अवस्था गम्भीर रहेको छ । उनीहरू अचेत छन् । उनीहरु डल्लु स्थायी ठेगाना भै नागार्जुन–६, डाँडापौवास्थित दुईतले पक्की घरको दोस्रो तलामा फ्ल्याट भाडामा लिएर बस्दै आएका थिए ।

काठमाडौंका प्रमुख एसएसपी सुदीप गिरीका अनुसार उक्त घटनाको अनुसन्धान भैरहेको बताएका छन् । प्रहरी अनुसन्धानका क्रममा ६२ वर्षीया इन्दिरामाया क्यान्सर रोगी रहेको र अर्का एक सदस्य मानसिक रोगी रहेको खुलेको छ । यसबाहेक एकजना शारीरिक रूपमा अशक्त रहेको पनि प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बुहारी एक सहकारी संस्थामा काम गर्दै आएको खुलेको प्रहरीले बताएका छन् ।