काठमाडौं – नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले खेलकुदका विभिन्न विधामा पल्सर स्पोर्ट्स अवार्डद्वारा सम्मान गर्ने भएको छ । पल्सर स्पोर्ट्स अवार्डको १८ औं संस्करणका पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक गरेको हो । अरू विधामा दशक अवार्डबाट खेलाडी सम्मान हुने भए पनि पिपल्स च्वाइज विधालाई नियमित अवार्डका रूपमा राखिएको छ ।

एनएसएफले आइतबार एक कार्यक्रमको आयोजना गर्दै मनोनयनमा परेका पाँच खेलाडीको नाम सार्वजनिक गरेको छ । यसरी मनोनयनमा परेका पाँच खेलाडीमा ब्याडमिन्टनका प्रिन्स दाहाल, टेबल टेनिसकी एलिना महर्जन, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, क्रिकेटका कुशल भुर्तेल र फुटबलकी एन्जिला तुम्बापो सुब्बा रहेका छन् ।

मनोनयनमा पर्न सफल खेलाडीलाई खेल पत्रकार, राष्ट्रिय प्रशिक्षक र समर्थकले मतदान गर्नेछन् । धेरै मत ल्याउने खेलाडीलाई आगामी चैत ८ गते मङ्गलबार काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने अवार्ड कार्यक्रममा विजेता नाम घोषित गरिनेछ । कोरोना महामारीका कारण गत वर्ष खेलकुद गतिविधि उल्लेख्य मात्रामा हुन सकेन । त्यसैले यस पटक विगत संस्करणभन्दा अलि भिन्न रूपमा हुन लागेको १८ औं संस्करणको पल्सर स्पोर्ट्स अवार्ड समारोह दशक अवार्डको रुपमा हुँदैछ ।

तर पिपल्स च्वाइज अवार्ड भने विगतकै वर्षजस्तो हुने एनएसजेएफले जनाएको छ । ‘पिपल्स च्वाइस विधा भने यथावत् ढङ्गले नै हुने आयोजकले बताएका छन् । अवार्डको सुरुवाती केही संस्करणपछि नेपाली खेलाडीलाई फरक ढङ्गले सम्मान गर्नका लागि यो विधा राखिएको एनएसजेएफद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

गत वर्षजस्तै भोटिङका लागि यस वर्ष पनि एनएसजेएफले ई–सेवासँग सम्झौता गरिसकेको छ । समर्थक, खेल पत्रकार र राष्ट्रिय प्रशिक्षकको मतका आधारमा पिपल्स च्वाइस विधाका विजेताको चयन हुनेछन् । पिपल्स च्वाइस विधामा इसेवाबाट आएका मतको मतभार ५० प्रतिशत रहनेछ भने सामाजिक सञ्जाल फेसबुक लाइकको मतभार २५ प्रतिशत हुनेछ । यस्तै राष्ट्रिय प्रशिक्षक र खेलपत्रकारको मतभार समान १२ दशमलब ५ प्रतिशत हुनेछ ।

यस वर्ष पिपल्स च्वाइज विधासंगै सर्वोत्कृष्ट दशक पुरुष खेलाडी, सर्वोत्कृष्ट दशक महिला खेलाडी, सर्वोत्कृष्ट दशक प्रशिक्षक, पारा एथलेट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड प्रदान गरिनेछ । दशक अवार्ड भएकोले यस पटक युवा विधा हटाइएको छ ।

दशक खेलाडी पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस गरी चार विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल प्रदान गरिनेछ भने अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले बताएका छन् ।