फाइल तस्वीर
काठमाडौं– नेपाल पत्रकार महासङ्घले आफ्नो ६७ औं स्थापना दिवसको अवसरमा सञ्चारकर्मीहरुबीच पहिलो ‘एफएनजे मिडिया कप फुटसल’ प्रतियोगिता आयोजना गर्ने भएको छ । पत्रकारबीच निरन्तर समन्वय, सहकार्य र भाइचाराको वातावरण तयार गर्ने उद्देश्यले महासङ्घद्वारा फुटसल प्रतियोगिता आयोजना गर्न लागेको हो ।

उक्त प्रतियोगिता विभिन्न सञ्चारगृह र विभिन्न सङ्गठनमा आवद्ध पत्रकारका लागि एकआपसमा मैत्रीपूर्ण प्रतिस्पर्धा गर्न सहयोगी हुने विश्वास महासङ्घले गरेको छ । साथै, यसले प्रतियोगितामा भाग लिने पत्रकारमात्र नभई दर्शकका रूपमा उपस्थित हुने अन्य सयौं पत्रकारलाई पनि अन्तरक्रिया र संवादको अवसर दिने महासङ्घको विश्वास रहेको महासचिव रोशन पुरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

आगामी चैतको दोस्रो साता हुने फुटसल प्रतियोगितामा १५ भन्दा बढी टिमका १ सय ५० भन्दा बढी पत्रकारहरु खेलाडीका रुपमा सहभागी हुने महासङ्घले अपेक्षा गरेको छ । दुई दिनसम्म चल्ने मिडिया कप फुटसल प्रतियोगितामा सञ्चार गृह, महासङ्घको प्रदेश र जिल्ला शाखाको साथै एसोसिएट संस्थाहरूलाई सहभागिता जनाउन पत्रकार महासङ्घले अनुरोध गरेको छ । नेपाल पत्रकार महासङ्घको स्थापना दिवस चैत १६ गते हो ।