काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संसद् विघटन गरेर अर्ली इलेक्सनमा जान सकिने खुलासा गर्नुभएको छ । अध्यक्ष नेपालले आइतबार नयाँ बानेश्वर स्थित संसद् भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै एमालेले संसद भदौदेखि संसद अवरुद्ध गर्दै चल्न नदिएको हुँदा त्यसबाट मुक्ति पाउन प्रतिनिधिसभाको निर्वाचनमा जान सकिने धारणा राख्नु भएको हो ।


एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई दुई पटकसम्म संसद विघटन गरेका र संविधानको ठाडो उल्लङ्घन भएको भन्दै संसद्को पूर्णकार्यकाल चलाउनु पर्ने एजेण्डासहित एमाले इतिरका राजनीतिक दलहरुले आन्दोलन गर्दै संसद पुनर्बहाली गर्न सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।


गत असार २८ गते सर्वोच्च अदालतबाट संसद् पुनर्बहाली भएपछि बनेको नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा असार २९ गते सरकार गठन भएको थियो । एमालेको निरन्तर संसद् अवरुद्धका कारण यतिबेला ‘अर्ली इलेक्सन’ मा जान गठबन्धन दलहरुबीच छलफल चलिरहेको छ । यसै सन्दर्भमा एकीकृत समाजवादीका अध्यक्ष नेपालले ‘अर्ली इलेक्सन’ जाने निष्कर्षमा पुगेको बताउनुभएको हो ।

प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा अध्यक्ष नेपालले ‘एमालेले संसद् चल्न नदिएर दुःख दिइरहेको छ । अझै पनि यो गत्यावरोध अन्त्य नहुने हो भने संसद् विघटन गरेर ‘अर्ली इलेक्सन’मा जानुपर्छ’ भन्नुभएको छ ।

अध्यक्ष नेपालसहित १४ सांसदको कारबाहीलाई पूर्णता दिनुपर्ने वा सभामुखले राजीनामा दिनुपर्ने मागसहित एमालेले गत भदौ २३ गतेदेखि संसद् अवरुद्ध गर्दै आएको छ । एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाले भूमिका खेलेको ओलीको आरोप छ ।

अध्यक्ष नेपालले संसद् चल्न नदिएर उत्पन्न भएको गञ्जागोलबाट बाहिर निस्कन विघटन गरेर चुनावमै जानुपर्ने उल्लेख गर्नुभएको छ । उहाँले भन्नुभयो ‘ओलीको एमालेले संसद् नदिएर गन्जागोल कायम राखिरह्यो । हामीलाई समेत दुःख दिइरहेका छन् । यस्तो अवस्थामा राखिरहनु भन्दा संसद् विघटन गरेर अर्ली इलेक्सनमा जानु राम्रो हुन्छ भन्ने भएको छ । संसद् विघटन गरिदिएपछि ओलीको वितण्डा पनि सकिन्छ ।’

अर्ली इलेक्सनको पक्षमा विपक्षी एमाले मात्रै होइन, काङ्ग्रेस पनि सकारात्मक छ । माओवादी केन्द्र र एकीकृत समाजवादीका कारण काङ्ग्रेस पूर्णकार्यकाल संसद्को पक्षमा उभिएता पनि अब नेपालले नै विघटनको पक्षमा अभिव्यक्ति दिएपछि चुनाव चाँडै हुने सम्भावना बढेको छ ।