काठमाडौं– राष्ट्रियसभा सदस्यमा निर्वाचित १९ सदस्यहरुले आज शनिबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ । सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा आज आयोजित शपथ ग्रहण समारोहमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभाका नवनिर्वाचित सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो ।
नवनिर्वाचित सदस्यले सभा तथा संसदीय समितिमा भाग लिनुअघि सङ्घीय कानुन अनुरुप शपथ लिनुपर्ने सवैधानिक व्यवस्था छ । शपथ लिन केही सदस्य आफ्नो जातीय वेषभूषासहितको पहिरनमा आउनु भएको थियो ।

आजपथ लिने नवनिर्वाचित सदस्यमा जयन्तीदेवी राई, गोमादेवी तिमिल्सिना, उर्मिला अर्याल, कमला पन्त, सोनाम गेल्जेन शेर्पा, मोहम्मद खालिद, कृष्णप्रसाद पौडेल, र भुवनबहादुर सुनार, गोपालकुमार बस्नेत हुनुहुन्छ । यसैगरी सुरेशकुमार आले मगर, नरबहादुर विष्ट, राजेन्द्रलक्ष्मी गैरे, तुलप्रसाद विश्वकर्मा, युवराज शर्मा, नारायणदत्त मिश्र, दुर्गा गुरुङ, उदयबहादुर बोहरा, मदनकुमारी शाह (गरिमा) र जगतबहादुर पार्कीले पनि शपथ लिनुभएको छ ।

राष्ट्रियसभा सदस्य १९ पदका लागि गत माघ १२ गते निर्वाचन भएको थियो । उहाँहरुको कार्यकाल ६ वर्षको हुनेछ । शपथ ग्रहण समारोहमा राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले नवनिर्वाचित सदस्यहरुलाई सङ्घीय ससद्को प्रतीक चिह्न (लोगो) प्रदान गर्नुभएको थियो । सचिवालयका महासचिव डा. भरतराज गौतमले राष्ट्रियसभाका नयाँ सदस्यहरुलाई सचिवालयको तर्फबाट बधाई दिंदै सफल कार्यकालको शुभकामना ज्ञापन गर्नुभएको थियो ।

उक्त समारोहमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दीलेन्द्रप्रसाद बडू, राष्ट्रियसभाका विभिन्न राजनीतिक दलका नेता, मुख्य सचेतक र सचेतकको समेत सहभागीता रहेको थियो । संसद् सचिवालयले नवनिर्वाचित सांसदहरुलाई संसद् र संसदीय अभ्यासबारे आजै संक्षिप्त जानकारी गराउने कार्यक्रम राखेको छ ।