काठमाडौं– निर्धारित समयभन्दा ढिलो गरी सुरु भएको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक २२ गते आइतबारसम्म स्थगित भएको छ । आजको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विवादको बीचमा संसदबाट अनुमोदन भएको एमसीसी, आगामी निर्वाचन लगायत देशको समसायिक विषयवस्तुको बारेमा रिपोर्टिङ गर्नु भएको थियो ।
उक्त बैठकमा नेता नारायणकाजी श्रेष्ठले बैठकलाई सम्बोधन गर्दै एमसीसी परियोजनाको बारेमा विमति सहित आफ्नो धारणा राख्नु भएको थियो । दुई नेताको सम्बोधन सकिएसँगै आइतबार बिहान ११ बजे बैठक बस्ने गरी आजको बैठक स्थगित भएको घोषणा गरिएको केन्द्रीय सदस्य पूर्णाकुमारी सुवेदीले नवसञ्चार अनलाईनलाई बताउनु थियो ।

पार्टीको आठौं महाधिवेशन पछि निर्वाचित पार्टी केन्द्रीय समितिको बैठक बसेको यो दोस्रो पटक हो । आइतबारबाट सुरु हुने बैठकमा पार्टीले तय गरेका एजेण्डाका बारेमा छलफल हुने केन्द्रीय सदस्य सुवेदीले बताउनु भएको छ । पार्टीले केन्द्रीय समितिको बैठकमा छलफलका लागि पार्टीको पदाधिकारी चयनदेखि आगामी निर्वाचनलगायत ६ वटा एजेण्डाहरु पेश गरेको छ ।