काठमाडौं – राष्ट्रियसभाको उपाध्यक्षको पद आज शुक्रबारदेखि रिक्त भएको छ । राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहालको चार वर्षे पदावधि आज सकिएसँगै राष्ट्रियसभा उपाध्यक्षको पद रिक्त हुन गरेको हो । राष्ट्रियसभामा निर्वाचित सांसदहरुको कार्यकाल गोलाप्रथाद्वारा गरिने संवैधानिक व्यवस्थाका कारण २०७५ असार ४ गते भएको ‘निर्वाचन प्रक्रिया’ को क्रममा राष्ट्रियसभा सदस्यमा चुनिनु भएकी शशिकला दाहाल उपाध्यक्ष बन्नु भएको थियो । उपाध्यक्ष दाहालको राष्ट्रियसभा सदस्यको कार्यकाल चार वर्षमात्र रहेकोले आजदेखि कार्यकाल सकिएको पछि राष्ट्रियसभामा उपाध्यक्ष पद रिक्त हुन पुगेको हो ।

यसैगरी प्रतिनिधिसभाको उपसभामुख पद पनि दुई वर्षदेखि नै रिक्त रहेको छ । तात्कालीन उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले २०७६ माघ ६ माघमा राजीनामा दिनुभएपछि पछि उक्त पद हालसम्म रिक्त रहँदै आएको हो । यसरी प्रतिनिधिसभाको उप–सभामुख र राष्ट्रियसभामा उपाध्यक्ष गरी दुवै पद रिक्त हुन भएका छन् ।

नेकपा एमाले र माओवादी मिलेर बनेको तात्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट सभामुखमा कृष्णबहादुर महरा र उप–सभामुखमा डा. शिवमाया तुम्बाहाम्फे हुनुहुन्थ्यो । तात्कालीन सभामुख महरा यौन प्रकरणमा मुछिएपछि उहाँले पदबाट राजीनामा दिंदा सभामुख पदकी आकाङ्क्षी बन्नुभएकी तुम्बाहाम्फे मन्त्रीको जिम्मेवारी सम्हाल्नका लागि उप–सभामुख पदबाट राजीनामा दिनुभएको थियो । उहाँले राजीनामा दिएपछि उपसभामुखका लागि राजनीति दलहरुबीच सहमति हुन नसक्दा अहिलेसम्म उक्त पद रिक्त रहँदै आएको छ ।

उपाध्यक्ष दाहालसहित २० जना राष्ट्रियसभा सदस्यहरुको कार्यकाल आजबाट सकिएको छ भने, माघ १२ गते भएको राष्ट्रियसभा सदस्य पदको निर्वाचनबाट निर्वाचित हुनुभएका सदस्यहरुले पद तथा गोपनियताको सपथग्रहण आज लिंदै हुनुहुन्छ ।