काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आजबाट सुरु हुने भएको छ । बैठक काठमाडौंको राष्ट्रिय सभागृहमा आज शुक्रबार बिहान ११ बजेदेखि सुरु हुने बताइएको छ । संसदबाट एमसीसी अनुमोदन भएपश्चात् उत्पन्न तीव्र विरोधका बीच माओवादीको बैठक बस्न लागेको हो ।

व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने पार्टीको निर्णयप्रति नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, गिरिराजमणि पोखरेल, लीलामणि पोखरेल, लेखनाथ न्यौपाने लगायतले तिव्र विरोध गर्दै आएका छन् । केन्द्रीय समिति बैठकमा एमसीसीको विषयलाई बैठकमा लिखित रुपमै राख्ने उनीहरुको तयारी छ ।

आजदेखि काठमाडौंको राष्ट्रिय सभागृहमा बस्ने केन्द्रीय समिति बैठकमा एमसीसीप्रति असहमति जनाउँदै छलफल चलाउने तयारी छ । पूर्वस्थायी समितिका सदस्य लीलामणि पोखरेलले नवसञ्चार अनलाइनसँग कुरा गर्दै आजको बैठकमा पदाधिकारी चयन, पार्टीको संरचना निर्माण, आगामी निर्वाचनको साथै एमसीसीको बारेमा विशेष छलफल हुने बताउनु भएको छ ।

गएको पुस ११ देखि १३ गतेसम्म भएको पार्टीको आठौँ राष्ट्रिय महाधिवेशन पदाधिकारी चयन नै नगरी टुङ्गिएको थियो । केन्द्रीय समिति मात्रै गठन भएको थियो । केन्द्रीय समितिको बैठकले प्रचण्डलाई पुनः अध्यक्षमा निर्वाचित गरेको थियो । पन्ध्र सदस्यीय पदाधिकारीमा अध्यक्ष मात्रै चयन भएपछि केन्द्रीय समितिको बैठक बस्न सकेको थिएन ।

नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक पछि बोलाइएको उक्त बैठक कोरोना भाइरसको बढ्दो सङ्क्रमण र राजनीतिक कारण देखाउँदै स्थगित भएको थियो । माओवादी केन्द्रको पार्टी नयाँ संरचना अनुसार अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, छ जना उपाध्यक्ष, एक महासचिव, दुई उप–महासचिव, तीन सचिव र एक कोषाध्यक्ष रहने व्यवस्था छ ।