फाइल तस्वीर
काठमाडौं– सत्ता गठबन्धन दलहरु आगामी निर्वाचनमा गठबन्धन गरेर जाने भएका छन् । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज बसको गठबन्धन दलको बैठकले उक्त निर्णय गरेको हो ।


प्रधानमन्त्री शेरबहादुर देउवा आगामी निर्वाचनसम्म गठबन्धन कायम गरेर जान सहमत हुनु भएको छ । अमेरिकी सहयोग परियोजना एमसीसी पास नगर्ने पक्षमा पुगेका सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले अन्तिम क्षणमा आएर एमसीसी पास गर्न सहयोग गर्दै संसदबाट एमसीसी अनुमोदन भएसँगै सत्ता गठबन्धन दलको आयु लम्बिएको छ ।


गठबन्धन दलका मुख्य घटक माओवादी केन्द्र र एकीकृत समाजवादील एमसीसी संसदबाट अनुमोदन नगर्ने भने विच्किएका प्रधानमन्त्री शेरबहादुरदेउवा सत्ता गठबन्धन भत्काउने अन्तिम निर्णयमा पुग्नु भएको थियो । संसदबाट एमसीसी अनुमोदन गर्न गठबन्धन तोडेर प्रमुख प्रतिपक्षी दल एमालेसँग सहकार्य गर्ने अन्तिम तयारी भैसकेको थियो । एमालेले सत्ता गठबन्धन भत्काएर अघि बढे देउवालाई सहयोग गर्ने बचन दिइसकेको थियो ।


एमालेको छलछामको राजनीतिबाट तर्सिएका प्रधानमन्त्री देउवा उधारो कुराप्रति विश्वस्त नभएपछि सत्ता गठबन्धनलाई जोगाएर संसदबाट एमसीसी अनुमोदन गराउन बुँदागत रुपमा ‘व्याख्यात्मक घोषणा’ तयार गरेर फागुन १५ गते अनुमोदन गर्न सफल भएपछि आगामी निर्वाचनसम्म गठबन्धन कायम गरेर जान प्रधानमन्त्री आफैंले प्रस्ताव गर्नुभएको हो ।


प्रधानमन्त्री देउवाले वर्तमान उपलब्धिलाई संस्थागत गर्दै अघि बढ्नको लागि सत्ता गठबन्धनलाई नै अगाडि बढाउनु पर्नेमा जोड दिनुभएको सरकारका प्रवक्ता समेत रहनुभएका सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी गराउनु भयो । यद्यपि, नेपाली काङ्ग्रेस पार्टीभित्र आगामी निर्वाचनमा गठबन्धन कायम गरेर जानु पर्ने र जान नहुने ठूलो विवाद रहेको छ ।

संस्थापन पक्ष गठबन्धन कायम गरेर आगामी निर्वाचनमा जानु पर्ने पक्षमा देखिएको छ भने नेता डा.शेखर कोइरालाले नेतृत्व गर्नुभएको संस्थापन इतर पक्ष कुनैपनि हालतमा आगामी निर्वाचनमा गठबन्धन गरेर जान नहुने बताउँदै आएको छ ।


आगामी निर्वाचनसम्म सत्ता गठबन्धन दलहरु सँगै जानुभने प्रधानमन्त्री देउवाको प्रस्तावलाई नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका अध्यक्षले समर्थन गर्नु भएको थियो । एमसीसीको विरोध गर्दै आउनु भएका एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीको गठबन्धन टुट्न नहुने प्रस्तावलाई भने सकारात्मक रुपमा लिनुभएको बताइएको छ ।


आज बसेको गठबन्धन दलको बैठकमा नेताद्वय खनाल र श्रेष्ठले एमसीसीको १२ बुँदे व्याख्यात्मक घोषणाको कुनै अर्थ नरहेको भन्दै एमसीसी पासै गर्न हुन्थेन भन्नै विरोध गर्नुभएको थियो ।


आजको बैठकमा एमसीसी पारित भएपछिको देशको समग्र राजनीतिक अवस्थाको बारेमा पनि छलफल भएको थियो । बैठकमा संसदमा जारी अवरोध अन्त्य गर्दै संसदलाई विना अवरोध सञ्चालन गर्न प्रमुख प्रतिपक्षी एमालेलाई फेरिपनि आग्रह गर्ने नेताहरुबीच सहमति भएको छ ।

बैठकमा नेताहरुले आगामी निर्वाचनमा सत्ता गठबन्धनबीच के कसरी सहकार्य गरेर अगाडि बन्ने भन्ने विषयमा पनि छलफल भएको र आ–आफ्ना पार्टीभित्र छलफल गरेर ‘अवधारणा’ तय गरेर अगाडि बन्न पनि नेताहरु सहमत भएको बताइएको छ ।