काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटरमा सत्ता गठबन्धन दलको बैठक बसिरहेको छ । संसदबाट अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन भएपछि पहिलोपटक गठबन्धनको बैठक बसेको हो ।

उक्त बैठकमा नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका साथै जनता समाजवादीका नेताहरू छलफलमा जुटेका छन् । आगामी स्थानीय तहको निर्वाचन र चुनावी गठबन्धनलगायत विषयमा छलफल भइरहेको बालुवाटार स्रोतले बताएको छ । प्रधानमन्त्री एवम् नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्तासमेत रहेका ज्ञानेन्द्रबहादुर कार्की, नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादवलगायतका नेता सहभागी रहेका छन् ।

संसदबाट एमसीसी अनुमोदन भैसके पछि सत्ता गठबन्धनमा किचलो बढ्न थालेको छ । पाँच दलीय सत्ता गठबन्धनबाट राष्ट्रिय जनमोर्चा बाहिरी रहेको छ । यसैगरी नेपाली काङ्ग्रेसले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धनदलहरुसँग गठबन्धन नगरी एक्लै चुनाव लड्ने काङ्ग्रेस महामन्त्री गगन थापा र प्रवक्ता डा. प्रकाशशरण महत्तले सार्वजनिक गरिसकेका छन् । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन हुने मिति तय भैसकेको छ ।