काठमाडौं – आज देशको पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग महाशाखाले जनाएको छ । आज राति देशको पहाडी तथा हिमाली भू–भागमा आंशिक देखि सामान्य बदली तथा अन्य भू–भागमा मौसम सामान्यता सफा रहनेछ । देशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्टयाङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

सुदूरपश्चिम, कर्णाली तथा प्रदेश १ को पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली तथा अन्य भू–भागमा आजको मौसम सामान्यता सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका थोरै र बाँकी प्रदेशका पहाडी भू–भागका एक÷दुई स्थानहरूमा मेघगर्जन र चट्टयाङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै उच्च पहाडी तथा हिमाली भू–भागहरूमा हल्का हिमपातको पनि सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन् । देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।