फाइल तस्वीर
काठमाडौं – सत्ताघटक दल नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना एमसीसीबारे आफ्नै पार्टीभित्रका केही नेताहरुले राखेको फरक मतप्रति आक्रोश व्यक्त गर्नुभएको छ ।

एमसीसीलाई संसदबाट अनुमोदन गर्नुपर्ने विषयमा अध्यक्ष प्रचण्डले पूर्वस्थायी समितिका सदस्यहरुलाई बोलाएर छलफल गर्दा पार्टीका नेताहरु नारायणकाजी श्रेष्ठ प्रकाश, लीलामणि पोखरेल, देवप्रसाद गुरुङ, गिरिराजमणि पोखरेल र कृष्णबहादुर महराले असन्तुष्टि जनाउँदै फरक मत राख्नु भएको थियो ।

पार्टीका नेताहरुको असन्तुष्टि र कार्यकर्ताहरुबाट गरिएका टिका–टिप्पणीहरुलाई सम्बोधन गर्न खुुमलटारस्थित आफ्नै निवासमा सोमबार पत्रकार सम्मेलन गर्नु भएको थियो । पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले एमसीसी परियोजना पास गर्नु पर्ने कारणको स्पष्ट पार्दै पार्टीका केही नेताहरुले फरक मत राखेको प्रति आक्रोश व्यक्त गर्नु भएको छ ।

‘नारायणकाजी श्रेष्ठले फरक मत राख्दा मैले स्वीकार गर्दै यसबारे केन्द्रीय कमिटीमा कुरा राखौंला, तर बाहिर यसबिरुद्ध कुनै भनाइ नराख्नुहोला भनेको थिएँ, तर उहाँले मान्नुभएन,’ अध्यक्ष प्रचण्डको भनाइ थियो । नेता नारायणकाजीप्रति आक्रोश व्यक्त गर्दै अध्यक्षले सबै एमसीसीविरुद्धका मत आफंैतिर आउला भनेजसरी सार्वजनिक अभिव्यक्ति दिएको व्यङ्ग्य समेत गर्नुभयो । एमसीसीमाथिको व्याख्यात्मक टिप्पणी अमेरिकाले स्वीकार नगरे एमसीसी खारेज हुने दावी अध्यक्ष प्रचण्डको थियो ।

संविधान र गणतन्त्रनै धरापमा पार्ने गरी ठूलो षडयन्त्र भैरहेकोले आफ्नो पार्टीले व्याख्यात्मक घोषणासहितको एमसीसी संसदबाट अनुमोदन गराएको जिकिर समेत गर्नुभएको थियो ।