काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले देशसँगै पार्टी गम्भीर राजनीतिक दुर्घटनाबाट जोगिएको बताएको छ । हिजो साँझ प्रतिनिधिसभाबाट अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता अनुमोदन गरिएपछि प्रचण्ड सचिवालयबाट उक्त भनाइ आएको हो ।

प्रचण्डका स्वकीय सचिव रहेकी गङ्गा दाहालले सामाजिक सञ्जाल फेसबुकमार्फत नेतृत्वलाई विश्वास गर्न पनि आग्रह गर्दै देश र जनताको हित बाहेक नेतृत्वको अरू कुनै स्वार्थ नभएको र धेरै विचार र विवेक पु¥याएर एमसीसी अनुमोदन गर्ने निर्णयमा पुगिएको बताएकी छिन् । उनले देशका लागि सबै संयमित हुनुपर्नेमा जोड दिंदै नेता–कार्यकर्ताहरुमा नेतृत्वविरुद्ध भ्रम पैदा नगर्न र सचेत हुन आग्रह गरेकी छन् ।

उनले एमसीसीलगायत विकसित राजनीतिक घटनाक्रमका बारेमा प्रचण्डले विशेष सम्बोधन गर्ने जानकारी पनि दिएकी छन् ।गङ्गा दाहालले सामाजिक सञ्जाल फेसबुकमार्फत लेखेकी छन् :

प्रिय कमरेडहरु!!
एमसीसीको सवालमा आज दिनभरको घटनाक्रमलाई मात्रै नियालेर गहिराई सम्म पुग्न सकिदैन। एकपटक सोचौं हाम्रो देश संगै पार्टी गम्भीर राजनीतिक दुर्घटनाबाट बचेको छ। पार्टी नेतृत्वलाई बिस्वास गरौं किन भने देश र जनताको हित बाहेक नेतृत्वको अरु कुनै स्वार्थ छैन। धेरै विचार र विवेक पुर्याएर आजको यो निर्णयमा पुगिएको हो। संयमित भएर परिस्थितिको गाम्भिर्यतालाई बुझौं। नेता कार्यकर्ता तहमा नेतृत्वको बिरुद्ध केहि भ्रम पैदा गराउन खोजिएको छ सचेत होऔं । MCC लगायत बिकसित राजनितिक घटनाक्रमका बारेमा अध्यक्ष कमरेड प्रचण्डले बिशेष सम्बोधन गर्नुहुनेछ। धन्यवाद!!