काठमाडौं – अमेरिकी सहायता परियोजना एमसीसीबारे प्रश्न उठेका विषयमा अन्तर्राष्ट्रिय अभ्यास अनुसार व्याख्यात्मक घोषणाको मस्यौदा तयार भएको छ । सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच व्याख्यात्मक घोषणा गरेर एमसीसी पारित गर्ने सहमति भएबमोजिम तयार पारिएको मस्यौदा आजै प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउने तयारी भइरहेको छ ।

अन्तर्राष्ट्रिय कानुनका विज्ञ गोविन्द वन्दी समेतको संलग्नतामा उक्त मस्यौदा तयार पारिएको हो । यसअघि परिमार्जनबिना कुनै हालतमा एमसीसी पारित गर्न नहुने निर्णय लिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल व्याख्यात्मक घोषणा गरेर एमसीसी पारित गर्ने पक्षमा सहमत भएका छन् ।

यसरी व्याख्यात्मक टिप्पणीलाई एमसीसी च्यालेञ्च कर्पोरेशनले स्वीकार गर्छ कि गर्दैन ? जनतालाई भुलभुलैयामा पारेर, विरोधका नाममा सडकमा उतार्दै टाउको फुटाउने काम भैरहेको अवस्थामा किन नेकपा माओवादी र एकीकृत समाजवादीले व्याख्यात्मक मस्यौदा तयार गरेर एमसीसी अनुमोदन गराउन लागेका हुन् ? मुलुकको स्वतन्त्रा र राष्ट्रिय अखण्डतामाथि सङ्कट आइपर्ने कुराहरु सम्झौतामा प्रष्ट लेखिएका छन् । सम्झौतामा उल्लेख भएका कुराहरु परिमार्र्जन हुन नसक्ने भनेर अमेरिकाले प्रष्ट पारिसकेको छ । यस्तो अवस्थामा किन यी दुई पार्टीले व्याख्यात्मक मस्यौदा तयार पारेर संसद्बाट एमसीसी पास गराउन खोजिएको छ ? यो गम्भीर कुरा हो । के यी दुई पार्टीका शीर्ष नेतालाई देशको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डताभन्दा सत्ता नै प्यारो हो त ?
नेकपा माओवादी केन्द्रको केहीबेर अघि सम्पन्न बैठकले ११ बुँदामा व्याख्यात्मक परिमाजर्न गरेर एमसीसी अनुमोदन गर्ने निर्णय गरेको छ । बैठकको निर्णयप्रति असन्तुष्टि जनाउँदै पाँच जना नेताहरुले नोटअफ डिसेन्ट लेखेका छन् । यसरी नोटअफ डिसेन्ट लेख्नेमा नेता नारायणकाजी श्रेष्ठ, देवप्रसाद गुरुङ, लीलामणि पोखरेल,कृष्णबहादुर महरा र गिरिराजमणि पोखरेल रहेका छन् ।