फाइल तस्वीर
काठमाडौं – सत्ता साझेदार दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र एकीकृत समाजवादीका अध्यक्षद्वयबीच गठबन्धन जोगाउने विषयमा छलफल भएको छ । दुवै पार्टीले आज आ–आफ्नो पार्टीमा आन्तरिक छलफल गरेका थिए । आन्तरिक छलफल पछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल छलफलमा जुटेका हुन् ।

नेपाली काङ्ग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले संसदबाट जसरी पनि एमसीसी अनुमोदन गराउनु पर्ने अड्डी लिएसँगै गठबन्धन दलभित्र विवाद चर्किदै आएको छ । माओवादी केन्द्र र एकीकृत समाजवादी एमसीसीको विपक्षमा उभिएपछि सङ्कटमा परेका सत्ता बचाउन र एमसीसी पास गर्नका लागि प्रधानमन्त्री देउवा प्रतिपक्षी दल एमालेलाई गुहार्दै केपी शर्मा ओलीको घर दैलोमा शरण खोज्न पुगेका छन् ।

यसैबीच प्रचण्ड र नेपालबीच सत्ता गठबन्धन कसरी जोगाउन सकिन्छ भन्दै विभिन्न विकल्प खोज्न सिंहदरबारस्थित एकीकृत समाजवादीको संसदीय दलको कार्यालयमा घनिभूत छलफल गरिरहेका छन् । सत्ताको नेतृत्व गरेको नेपाली काङ्ग्रेस र प्रमुख प्रतिपक्षी दल एमालेबीच नयाँ लगनगाँठो कस्न छलफललाई तीब्र बनाइरहेका बेला दुई कम्युनिस्ट घटकका अध्यक्षद्वयले पनि कसरी गठबन्धन जोगाउन सकिन्छ भनेर गृहकार्य गरिरहेका छन् ।

एमालेसँगको छलफलपछि हौसिएको नेपाली काङ्ग्रेसले वर्तमान गठबन्धनको औचित्य सकिएको सङ्केत गरिसकेको छ । एमसीसी संसदबाट पास गराउन उसले एमालेको बैशाखी खोजिरहेको छ । तर एमालेले त्यति सजिलै काङ्ग्रेसलाई साथ दिने अवस्था भने छैन । उस्तै परे ओलीको पासोमा प्रधानमन्त्री देउवा पर्ने र सत्ताच्यूत हुनुपर्ने सम्भावित अवस्थालाई नकार्न मिल्दैन ।

अध्यक्षद्वय दाहाल र नेपाल दुवै एमसीसीलाई संसदमा टेबुल गर्न सहमत भएपछि संसदबाट अनुमोदन गर्न हौसिएको नेपाली काङ्ग्रेसलाई सत्ता सहयात्री दुवै दल विपक्षमा उभिएपछि निद हराम भएको छ । त्यसैले प्रधानमन्त्री देउवा एमाले अध्यक्ष ओलीको सामिप्यमा पुगेका छन् । नेपाली राजनीतिका महिषा केपी शर्मा ओली एउटै गोलीले दुई सिकार गर्ने रणनीतिमा केन्द्रीत छन् ।