फाइल तस्वीर
काठमाडौं — सत्ता गठबन्धनको प्रमुख एक घटक नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सरकारबाट हट्ने विषयमा आन्तरिक छलफलमा जुटेको छ । खुमलटारस्थित पार्टी अध्यक्ष प्रचण्ड निवासमा अहिले बैठक चलिरहेको छ ।

माओवादी केन्द्रले एमसीसीलाई यथास्थितिमा संसदबाट अनुमोदन गर्न नसकिने भन्दै विरोध गर्दै आएको छ । एमसीसीको विपक्षमा रहेको माओवादी केन्द्रबैठक सत्ता गठबन्धनमा उत्पन्न परिस्थिति, एमसीसी र सरकारबाट बाहिरिनेलगायतका विषयमा केन्द्रीत रहेको प्रचण्ड सचिवालयले जनाएको छ ।

हिजो बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र अध्यक्ष प्रचण्डबीच एमसीसी परियोजना र सहकार्यका बारेमा गम्भीरताका साथ छलफल भएको थियो । छलफलमा एमसीसीको विषयमा माओवादीले सहयोग गर्न नसक्ने अध्यक्ष प्रचण्डले बताउनु भएको थियो प्रधानमन्त्री र प्रचण्डबीच भएको छलफलपछि अब आ–आफ्नै बाटो लाग्ने निष्कर्ष निकालेर बाहिरिनु भएको थियो ।

हिजै अध्यक्ष प्रचण्डले एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटगरेर छलफल गर्नु भएको थियो । एमसीसीको विपक्षमा उभिन भन्दै सत्ता सञ्चालनमा एमालेलाई सहयोग गर्न तयार भएको प्रचण्डले ओलीलाई बताउनु भएको थियो । तर ओलीले प्रचण्डसँग पार्टीले कारवाही गरेका नेताहरु र सभामुख अग्निप्रसाद सापकोटाको विषयमा कुरा राखेपछि एमाले र माओवादीबीचको सहकार्य गर्ने प्रस्तावको कुनै अर्थ रहेन ।

माओवादी केन्द्रको सत्ता बहिर्गमनसँगै एकीकृत समाजवादीले पनि सत्ता परित्याग गर्ने सम्भावना बढेको छ । यसो भएको अवस्थामा प्रधानमन्त्री शेरबहादुर देउवा अल्पमतमा पर्ने निश्चित छ । एमालेले अहिलेसम्म एमसीसीका विषयमा सार्वजनिक रुपमा मुख खोलेको छैन । एमालेसँग विश्वस्त भै नसकेको अवस्थामा माओवादी केन्द्र र एकीकृत समाजवादी सरकारबाट हट्ने वित्तिकै प्रधानमन्त्री देउवालाई ठूलो समस्या पर्न सक्नेछ । खिइदै गएको काङ्ग्रेस अझ खिइदै जाने आधार बन्दा एमसीसी प्रकरण नेपाली काङ्ग्रेस पार्टीको लागि अभिसाप बन्ने निश्चित छ ।