फाइल तस्वीर,

काठमाडौं– एमसीसी प्रकरणले हिजो स्थगित भएको प्रतिनिधिसभाको बैठक आज दिउँसो बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा एमसीसीमाथि छलफल हुने कार्यसूची तय भएको छ । आज शुक्रबारका लागि तय भएको बैठकको लागि सम्भावित कार्यसूचीमा एमसीसीलाई दोस्रो नम्बरमा राखिएको संसद सचिवालयद्वारा बिहीबार जारी गरेको पत्रमा उल्लेख छ ।

‘अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बीच भएको अनुदान सहायता सम्झौतामाथि सामान्य छलफल गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्नुहुने,’ कार्यसूचीमा उल्लेख छ । तर अर्थमन्त्री शर्मा भने संसद बैठकलाई छल्दै राजधानी बाहिर सरय गरिरहनु भएको छ ।

प्रतिनिधिसभाको बैठकबाट फागुन १६ गते सोमबारसम्म पास गर्न अमेरिकाले दिएको अन्तिम मितिभित्र जसरी पनि एमसीसी पास गर्न नेपाल काङ्ग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा लागिपर्नु भएको छ । तात्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चालेर संविधानको घाँटी निमोठ्ने काम गरेको भन्दै पाँच दलीय गठबन्धनको मोर्चा बनाएर बनाएर प्रधानमन्त्री बनेका देउवा अहिले राष्ट्रिय अखण्डतालाई नै चुनौती दिंदै एमालेको शरणमा पुगेका छन् ।

हिजो बसेको प्रतिनिधिसभाको बैठक प्रधानमन्त्रीकै जोडबलमा स्थगित भएको थियो । प्रधानमन्त्री देउवाले एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग लामो छलफल गर्दै एमसीसी पास गर्ने शर्तमा गठबन्धन तोड्न तयार रहेको बताउँदै सरकारमा सहभागी हुन समेत आग्रह गरिसकेका छन् । प्रतिनिधिसभाको बैठक नै स्थगित गरेर एमालेसँग एमसीसी पास गराउन अनुनय विनय गरेका प्रधानमन्त्री देउवाले गठबन्धन विघटनदेखि सभामुख अग्निप्रसाद सापकोटालाई समेत हटाउनेसम्मका विन्दुसम्म पुगिसकेका छन् । एमसीसीकै कारण पाँच दलीय सत्ता गठबन्धन धरापमा परिसकेको छ ।

प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन भएको अवस्थामा नेपाली काङ्ग्रेसले आगामी निर्वाचनमा ठूलो दुस्परिणमा भोग्नु पर्ने विश्लेषण गरिन थालिएको छ । नेकपा एमालेले गठबन्धन टुटाउन जे जस्ता प्रस्तावहरु प्रधानमन्त्री देउवासँग राखेता पनि एमालेले एमसीसीमा महाकाली सन्धीको पूनरावृत्ति नगर्ला कि भन्नमात्र सकिन्छ । एमसीसी राजनीतिक मुद्दाभन्दा पनि राष्ट्रिय स्वाधिनतासँग जोडिएको विषय पेचिलो बन्दै आएको छ । यदि एमालेकै साथ र सहयोगमा संसदबाट एमसीसी अनुमोदन भएमा एमालेको राजनीतिलाई पनि ठूलो धक्का पुग्न सक्दछ ।

लिपुलेक, कालापानी र लिम्पियाधुरा समावेश गरेर निकालिएको नक्साले एमाले अध्यक्ष ओलीलाई जसरी राष्ट्रवादीको शिखरमा पुर्याएको थियो, त्यसैगरी ओलीलाई २०७७ राष्ट्रवादीको शिखरबाट गल्र्याम्मै ढालिदिएको छ । नेपाली राजनीतिमा भ्रम र छलछामको जाल हान्न खप्पिस केपी शर्मा ओलीले संसदबाट एमसीसी पास गर्नलाई ठूलै माछा हात लाग्ने भएमा दुई तिहाइ बहुमतबाटै पास हुन सक्नेछ । एमालेमा ओलीको हैकमलाई कुनैपनि नेता कार्यकर्ताले अस्वीकार गर्न सक्दैनन् भन्ने प्रष्ट भैसकेको छ ।

तर प्रधानमन्त्री शेरबहादुर देउवालाई एमसीसी पास गर्ने ‘ललिपप’ देखाएर सत्ता गठबन्धन टुटाउने र संसदबाट एमसीसी पनि पास नहुने रणनीतिमा एमाले अध्यक्ष ओलीको रणनीति खेल पनि हुनसक्दछ । संसदबाट एमसीसी अनुमोदन हुन सकेन भने प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने अवस्था आउने छ ।

सरकार अल्पमतमा परेको भन्दै मध्यावधि निर्वाचनको घोषणा गर्न देउवालाई बाध्यकारी अवस्था हुन सक्दछ । एमालेले चाहेको पनि यतिखेर निर्वाचन नै हो । एमाले ‘अर्लि इलेक्सन’कै पक्षमा रहेको छ । उसले संसदलाई अनिर्णयको बन्दि बनाउनुको कारण पनि यही हो । एमसीसी अनुमोदन गर्नकै लागि नेपाली काङ्ग्रेसले गठबन्धन तोड्नु भनेको काङ्ग्रेसको बाँकी साख पनि कम्जोर बन्दै जानु हो ।