रुकुम – रुकुम (पूर्व)को भूमे गाउँपालिका– ४ झिङ्गेटारमा टिपर बा २ क ७०१८ नम्बरको टिपर पल्टिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पुथाउत्तरगङ्गा गाउँपालिका– १४ का अन्दाजी २५ वर्षका गोविन्द बुढा र भूमे – ५ उपल्लो साकिमका २५ वर्षका दामु बुढा रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनीहरुको उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । यस्तै दुर्घटनामा दुई जना घाइते भएका छन् । घाइते हुनेमा लामा कन्स्ट्रक्सनका सव इञ्जिनियर दोलखाका अन्दाजी ३५ वर्षीय ध्रुव घिमिरे र उदयपुर चौबन्दिगढी नगरपालिका– ५ का २३ वर्षीय रामआशिष चौधरी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार उनीहरु लामा कन्स्ट्रक्सनद्वारा निर्माण गरिराखेको धाउने–बालुवा–देउखोला सडकखण्डमा कार्यरत रहेका थिए । सोही कन्स्ट्रक्सनकै टिपरले ढुङ्गा झार्ने क्रममा अनियन्त्रित भई पल्टिँदा उनीहरुलाई किचेको जनाइएको छ । रासस