फाइल तस्वीर
काठमाडौं– प्रतिनिधिसभाको बैठक आज बिहीबार बस्दै छ । आजको बैठकमा विवादास्पद बनेको एमसीसी परियोजनाको बारेमा छलफल प्रारम्भ हुने भएको छ । सम्भावित कार्यसूचीमा एमसीसीमाथिको छलफललाई समावेश गरिसकेको छ । प्रतिनिधिसभाको बैठक बस्नु अघि कार्यव्यवस्था परामर्श समितिको बैठक वसी त्यसलाई समितिले अन्तिम रूप दिने बताइएको छ ।

सबैभन्दा पहिले एमसीसी सम्झौताको सैद्धान्तिक विषयमा छलफल हुनेछ । छलफलका निम्ति सांसद्हरुले कार्यव्यवस्था परामर्श समिति नाम टिपाएर धारणा राख्न पाउनेछन् । सैद्धान्तिक छलफलपछि विभागीय मन्त्रीले जवाफ दिनुपर्नेछ । जवाफपछि सैद्धान्तिक छलफलको प्रस्ताव स्वीकार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेस हुनेछ । सैद्धान्तिक छलफलपछि दफावार छलफल हुनेछ । छलफलमा सम्झौताको दफावार रूपमा विस्तृत बहस गरिने भएको छ । दफावार छलफलपछि भने सम्झौता पारितको चरणमा जानेछ । पारित गर्नका लागि प्रतिनिधिसभामा उपस्थित भएको सङ्ख्याको बहुमतले एमसीसी पास गर्नेछ ।

नेपाली काङ्ग्रेसले आज बस्ने प्रतिनिधिसभाको बैठकमा अनिवार्य उपस्थित हुन आफ्नो पार्टीका सबै सांसदहरुलाई निर्देशन दिएको छ । यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले संसद्मा पेस भएको अमेरिकी सहयोग परियोजना (एमसीसी)को पक्षमा रहने हिजै निर्णय गरिसकेको छ । एमसीसी पास गर्ने हुने नहुनेमा अन्योेलता देखिएको छ ।