फाइल तस्वीर
काठमाडौं – पाँचदलीय सत्ता गठबन्धनको प्रमुख एक घटक नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरिएको एमसीसी पास हुन्छ भन्ने भ्रममा नपर्न पार्टीका नेता तथा कार्यकर्ताहरूलाई आग्रह गर्नुभएको छ । बुधबारबाट काठमाडौंमा सुरु भएको माओवादी केन्द्र बागमती प्रदेश समितिको दोस्रो पुर्ण बैठकलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले उक्त कुराको खुलासा गर्नुभएको हो । अध्यक्ष प्रचण्डले गठबन्धन जोगाउनका लागिमात्रै संसद्मा एमसीसी टेबल गर्नुपरेको बताउनु भएको थियो ।


अध्यक्ष प्रचण्डले ‘एमसीसी टेबल हुँदैमा पास गर्यो भनेर भ्रममा नपर्नु होला भन्दै गठबन्धन नै टुट्लाजस्तो भएपछि टेबल गर्न दिएको मात्रै हो’ भन्नुभएको छ । अध्यक्ष प्रचण्डले संसद्मा टेबल गर्दैमा केही नबिग्रिने भन्दै ‘यदि टेबल नगरेको भए सत्ता पक्षबाटै सभामुखकै विरुद्धमा पनि षड्यन्त्र हुनसक्ने बुझेर त्यसो गरिएको हो’ भनेर नेता तथा कार्यकतालाई आश्वस्त पार्नु भएको थियो ।

नेकपा माओवादी केन्द्रको बागमती प्रदेश समितिको बैठक भोलि बिहीबारसम्म चल्ने छ । उक्त बैठकले प्रदेशका ३१ विभाग, जिल्ला समन्वय समिति, क्षेत्रीय निर्वाचन समिति गठन र चुनावी कार्यक्रम तय गर्ने पार्टी कार्यालयले जनाएको छ ।