फाइल तस्वीर
काठमाडौं – महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलको बैठक बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्ने भएको छ । संसदमा पेश भएको अमेरिकी सहयोग एमसीसीको बारेमा ठोस निर्णय गर्न लोसपाको बैठक बस्न लागेको हो ।


उक्त पार्टीका नेता लक्ष्मणलाल कर्णका अनुसार अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) लगायत देशको समयसामयिक राजनीतिक विषयमा विषयमा बैठक केन्द्रीत हुनेछ । एमसिसी नेपालको पूर्वाधार विकास र नेपाली जनताको समृद्धिको पक्षमा रहने भनी दाबी गर्दै आएको (लोसपा)को आजको बैठकले यस सम्बन्धमा आजको बैठकबाट पार्टीको ठोस धारणा सार्वजनिक हुने बताइएको छ । लोसपाले एमसीसी अनुमोदनको पक्षमा निर्णय आउने स्रोतको भनाइ छ । प्रतिनिधिसभामा लोसपाका १३ जना सांसद रहेका छन् ।


एमसीसी सम्झौता छलफलका लागि ८ गते आइतबार सदनमा पेश भइसकेको छ । एमसीसी संसद्मा पेश भएको विरोधमा राजधानी लगायत देशका विभिन्न सहरहरुमा जनता सडकमा उत्रिएका छन् । २०७४ साल भदौ २९ गते नेपाल र अमेरिकाबीच एमसीसी कम्प्याक्टमा सम्झौता भएको थियो । नेपालका तर्फबाट तात्कालीन अर्थमन्त्री (हालका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद्मा प्रस्ताव पेश गर्नुभएको थियो ।


सत्ता गठबन्धन दलका मुख्य घटक नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा एमसीसीको विपक्षमा देखिएका छन् । उनीहरुले संसद्मा विपक्षमा मतदान गर्ने जनाइसकेका छन् । जनता समाजवादी पार्टीले दोधारमा रहेको छ । यसैगरी नेपाल मजदुर किसान पार्टी पनि एमसीसीको विपक्षमा रहेको छ । एमसीसी संसद्मा उपस्थित सङ्ख्याको सामान्य बहुमतले पास गर्न सकिने व्यवस्था छ ।


प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छैन । एमाले पार्टी भित्र पनि एमसीसीको पक्ष र विपक्षमा सांसदहरु भिजाजित छन् । मतदानको बेला पार्टीको ह्वीप लाग्दैन ।