चितवन – सत्तारुढ दल नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)को पक्षमा मतदान नगरे नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले सरकार छाड्नुपर्ने बताउनुभएको छ ।

आज बिहान भरतपुर विमानस्थलमा सञ्चार माध्यमहरुसँग संक्षिप्त कुराकानी गर्दै महामन्त्री थापाले सत्तारुढ दलले नै सरकारले संसदमा पेश गरेको एमसीसी सम्झौताको विपक्षमा मतदान गरे गठबन्धनको औचित्य त्यही दिन सकिने बताउनुभएको हो ।

सरकारले ल्याएको प्रस्तावको विपक्षमा मतदान गर्नेले सरकारमा सँगसँगै बस्छु भन्नु अनैतिक हुने काङ्ग्रेस महामन्त्री थापाको भनाइ छ । मतदानको बेला पेट दुख्यो भनेर घर बस्ने, तर अर्को दिन ठीक भयो गठबन्धनमा फर्किएँ भनेर बस्न नसकिने थापाको टिप्पणी छ ।

कम्युनिस्टको नेतृत्वमा बनेको सरकारले विभिन्न समयमा एमसीसी सम्झौता अगाडि बढाउने काम गरेकाले अहिले विरोध गर्नुको औचित्य नभएको महामन्त्री थापाको भनाइ छ