फाइल तस्वीर
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को सचिवालय बैठक केहीबेर पछि बस्दैछ । अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) देशको विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न सचिवालयको बैठक बस्न लागेको हो ।
हिजो आइतबार प्रतिनिधिसभाको बैठकमा एमसीसीको प्रस्ताव पेश भएसँगै बानेश्वरमा प्रहरी र प्रदर्शनकारीहरुबीच दोहोरो भिडन्त भएको थियो । त्यसोता एमसीसी पास गर्न नहुने भन्दै एक हप्तादेखि विरोधको जुलुस र सभा हुँदै आएका छन् । सरकारले शान्तिपूर्ण जुलुसमाथि धरपकड र दमन बढाउँदै लगेको छ ।


हिजो बसेको प्रतिनिधिसभाको बैठक सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी प्रस्ताव पेश गरेका थिए । स्मरणरहोस् यिनै मन्त्री अर्थमन्त्री हुँदा अमेरिकासँग एमसीसी सम्झौता गरेका थिए ।


सत्ताघटक दल नेकपा (एकीकृत समाजवादी) सहित, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले एमसीसीको विरोध गर्दै आएका छन् । हिजो बसको प्रतिनिधिसभा बैठकमा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ र प्रमुख प्रतिपक्षी दल एमालेका नेता भीम रावलले एमसीसी देशहितमा नरहेको भन्दै विरोध गरेका थिए । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सत्ताबाट हट्नु परे पनि एमसिसीको समर्थन नगर्ने बताउँदै आएका छन् । अहिले बस्न लागेको पार्टीको सचिवालय बैठकबाट सरकारबाट हट्न सक्नेसम्मको निर्णय गर्नसक्ने सम्भावना रहेको बताइएको छ ।