काठमाडौं – नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले संसदमा पेश गरिएको एमसीसी सम्झौता निर्णयार्थ पेश हुनुअघि नै आफ्नो पार्टी सरकारबाट बाहिरिने बताउनुभएको छ । नेता श्रेष्ठले एमसीसी बलजफ्ती संसदमा टेबल गरिए सरकार छोड्ने पार्टी संसदीय दल र सचिवालयको बैठकको निर्णय परिवर्तन नहुने अडान समेत राख्नुभएको छ ।

संसदमा एमसीसी टेबल भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै नेता श्रेष्ठले पार्टीको निर्णय अनुसार अब आफूहरू सरकारमा बस्न नसक्ने स्पष्ट पार्नुभयो । उहाँले एमसीसीजस्तो नेपाललाई दूरगामी असर पु¥याउने र राष्ट्रियतासँग सम्बन्धित तथा सिङ्गो नेपाली समाज विभाजित भएको संवेदनशील सम्झौतालाई प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँ नेतृत्वको नेपाली काङ्ग्रेसले संसदमा टेबल गरेको भन्दै आपत्ति जनाउनुभयो ।

सरकारले संसदमा एमसीसी सम्झौता टेबल गरेर लोकतन्त्रकै उपहास गरेको उहाँको आरोप थियो । नेता श्रेष्ठले एमसीसी सम्झौतालाई संसदबाट अनुमोदन नगर्न र असफल बनाउन सम्पूर्ण सांसदहरू र आम नेपाली जनताहरुलाई समेत आह्वान गर्नुभएको छ ।