काठमाडौं – प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्न लागेको हो । सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय समावेशी आयोगको प्रतिवेदन २०७७÷०७८ पेस गर्नेमात्रै कार्यसूची रहेको छ । संसद् बैठकको सम्भावित कार्यसूचीमा अमेरिकी सहयोग परियोजना एमसीसी समावेश भएको छैन ।

हिजो शनिबार सार्वजनिक कार्यसूचीमा आज पुनः फेरबदल गर्न सकिने व्यवस्था भएकाले अन्य विषय पनि थपिन सक्ने सम्भावना छ । बैठकका अन्य कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको छ ।

सरकारले आजको बैठकमा एमसीसी संसदबाट अनुमोदनका लागि टेबल गर्ने तयारी गरिरहेको छ । तर, सत्ता गठबन्धनकै दल नेकपा माओवादी केन्द्र भने टेबल गर्न नदिने पक्षमा छ । अर्को सत्तारुढ दल नेकपा एकीकृत समाजवादीको हिजो बसेको बैठकले नेपाली काङ्ग्रेसलाई साथ दिँदै एमसीसी सदनमा टेबल हुन दिने तर अनुमोदनका लागि भने यथास्थितिमा पक्षमा मतदान नगर्ने निर्णय पार्टीले गरेको छ ।