धादिङ – राजधानी प्रवेश गर्ने मुख्य सडक नाका नागढुङ्गा–नौबिसे सडकमा हुने गरेको सवारी चापका कारण बढ्दै गएको सडक आवागमन कम गर्न वैकल्पिक मार्गको खोजी गरिएको छ । सीतापाइला–धार्के जोडिएको सडकको सबै खण्ड कालोपत्रे हुने भएको छ ।

केही समययता हरेक दिनजसो नागढुङ्गा–नौबिसे सडकको २५ किलोमिटर दूरीको सडकमा घण्टौँसम्म यातायात अवरूद्ध भइरहेको छ । उक्त दूरी पार गर्न चार घण्टाभन्दा बढी समय लाग्ने गरेको छ । वर्षौंदेखि कायम रहेको समस्या समाधानका लागि धादिङको धार्केबाट सीतापाइला जाने कच्ची सडकलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सकिने सम्भावना देखिएपछि सडकको मर्मत थालिएको हो ।

उपत्यका प्रवेश गर्ने मुख्य नाका नागढुङ्गा–नौबिसे सडकखण्डको विकल्प मानिएको सीतापाइला–धार्के सडक खण्डको ठेक्का लाग्न बाँकी खण्डका लागि सडक विभागले ५५ करोडको स्रोत सुनिश्चित गरेको छ । योजनाअनुसार काम भए काठमाडौं भित्रिँदा र बाहिँरिदा नागढुङ्गाको जाम छल्ने साना सवारीलाई यो सडकले विकल्प दिने छ ।

विभागले यसअघि नै सितपाइला र धार्के दुवैतर्फबाट ठेक्का लगाएर विस्तारको काम सुरु गरिरकेको छ । तर, बीचको करिब १० किलोमिटर खण्डको ठेक्का लाग्न सकेको थिएन । सडक विभागका प्रवक्ता शिव नेपालका अनुसार अर्थमन्त्रालयले स्रोत सुनिश्चित गरेको सुनिएको तर पत्र प्राप्त भइ सकेको छैन । स्रोत सुनिश्चित भएर काम अघि बढाएपछि काठमाडौंबाट बाहिरिने र काठमाडौं भित्रिने साना सवारीलाई सहज विकल्प तयार हुने उहाँको भनाइ छ ।

उक्त सडक सीतापाइला–छत्रेदेउराली, ठूलोखोला–रामकोट,भीमढुङ्गा–महेशफाँट हुँदै धार्के पुगेर जोडिन्छ । अहिले धार्केबाट कलङ्की पुग्न २५ किलोमिटरको दूरी छ । दुई लेनको बाटो हुन लागेको धार्के–सीतापाइला सडक खण्ड पनि कुल २४ किलोमिटरको दूरीमा छ । सीतापाइला–धार्के सडक खण्ड विस्तार भएर सञ्चालनमा आएपछि नौबिसेदेखि नागढुङ्गासम्म हुने सवारीको जाम कम हुने अपेक्षा गरिएको छ । यो सडकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) कुवेत सरकारले तयार पारेको हो । झण्डै १५ करोड खर्चिएर डीपीआर तयार गरिएको थियो ।

सडकलाई स्तरीय बनाउन झण्डै साढे २ अर्ब खर्च लाग्ने प्रतिवेदनमा उल्लेख छ । यो सडकको ट्र्याक पुरानो नै हो । यो सडकलाई दुई लेनमा विस्तार गरेर सवारी आवत–जावत सहज गराउने योजना अनुसार काम हुने भएको छ । धार्केबाट १४ किलोमिटरसम्मको सडकखण्डमा चितवन डिभिजनले निर्माणको काम गर्दैछ भने काठमाडौंको सिमाना रामकोटसम्मको निर्माण काम यही डिभिजनले गर्नेछ । त्यसभन्दा यता काठमाडौंंकै डिभिजनले काम गरिरहेको छ ।

सरकारले चितवन डिभिजनलाई १४ किलोमिटर खण्ड विस्तारका लागि झण्डै २५ करोड रुपैयाँ बजेट सुनिश्चित गरेको थियो । सडकका विभिन्न खण्डमा फराकिलो बनाउने तथा कल्भर्ट र पर्खालसहित आवश्यक पूर्वाधारहरु तयार गरिँदैछ । कतिपय खण्ड कालोपत्रे भइसकेको छ । यो सडकलाई फराकिलो बनाउन सडक विभागले आफ्ना दुई सडक डिभिजन कार्यालयलाई जिम्मेवारी दिइसकेको छ ।