काठमाडौं – प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बैठक बस्नेछ । आजै दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ । त्यसैका लागि कार्यसूची तय गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न लागेको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले आज बिहान साढे ११ बजे बस्ने गरी बैठक तय गर्नुभएको उहाँका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिनुभयो । बैठकले प्रतिनिधिसभा बैठकको कार्यसूची निर्धारण गर्नेछ । बैठकमा सभामुखसहित संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक, सचेतकलगायत सहभागी हुने भएका छन् ।

लामो समयदेखि एमालेका सांसदले संसद् बैठक अवरुद्ध गर्दै आएता पनि आजको बैठकमा भने प्रमुख प्रतिपक्ष दल एमाले पनि सहभागी हुन सक्ने सम्भावना बढेको छ । बैठकमा अवरोध खुलाउने विषयमा पनि छलफल हुनेछ । हिजो सत्ता गठबन्धनको बैठक सकिए लगत्तै प्रधानमन्त्री देउवा एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुग्नुले पनि कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमालेको उपस्थिति हुनसक्ने सम्भाबना छ ।