काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ज्यान्सेन (जे एण्ड जे) खोप लगाएका नागरिकहरुले पनि बुस्टर मात्रा खोप लगाउन मिल्ने बताएको छ । जिल्ला–जिल्लाबाट पहिलो मात्रा खोप मात्रै लगाए पुग्ने ज्यान्सेन (जे एण्ड जे) खोप लगाएकाहरुले के गर्ने भन्ने जिज्ञासा आउन थालेपछि मन्त्रालयले सूचना जारी गर्दै बुस्टर मात्रा खोप लगाउन मिल्ने बताएको हो ।

मन्त्रालयका अनुसार अन्य खोप लगाएका व्यक्तिले जस्तै १८ वर्ष पूरा भई ज्यान्सेन (जे एण्ड जे) खोप लगाएका व्यक्तिले ६ महिना पुगेपछि बुस्टर मात्रा लगाउन मिल्छ । पहिलो मात्रा ज्यान्सेन खोप लगाएका नागरिकहरुलाई आफ्नो नजिकको खोप केन्द्रमा जाँदा खोप पाएसम्म ज्यान्सेन(जे एण्ड जे ) नै लगाउन मन्त्रालयले सुझाव दिएको छ ।

यदि उक्त खोप नपाएमा ज्यान्सेन (जे एण्ड जे) लगाएका व्यक्तिले ६ महिना पुगेपछि बुस्टर मात्राका रुपमा कोभिशिल्ड, अस्ट्राजेनिका, मोडर्ना वा फाइजर खोप लगाउन सकिने मन्त्रालयले सूचित गरेको छ ।