काठमाडौं – पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले नेपाली काङ्ग्रेसलाई जबर्जस्ती एमसीसी संसदबाट पारित गर्ने प्रयास नगर्न चेतावनी दिनुभएको छ । नेकपा एसका नेता खनालले संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै जनतालाई गुमराहमा राखिएको एमसीसी सम्झौतालाई यथास्थितिमा पारित गर्न नहुने बताउनुभयो । उहाँका अनुसार नेपाली जनतालाई सर्वोपरी ठानेर एमसीसी सम्झौता नभएको उल्लेख गर्नुभयो ।

उहाँले सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै भन्नुभयो, यो एमसीसी सम्झौतामा गम्भिर खालका, राष्ट्रिय हित विपरितका कुराहरु रहेको छ । त्यसैले यसलाई बल प्रयोग गरेर पास गर्छु भन्न मिल्दैन । वरिष्ठ नेता खनालले यथास्थितिमा एमसीसी संसदमा टेबल गर्न नदिन संसद,सडक र सरकार सबै ठाउँबाट आफ्नो पार्टीले विरोध गर्ने तर्क उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘नेपालको हितलाई सर्वोपरि राखेर यो सम्झौता सुरुमै भएन । नेपाली जनतालाई थाहा नै नदिइकन, राम्ररी अध्ययन नै नगरीकन, के गर्दा राष्ट्रको हित हुन्छ भन्ने कुरा बुझ्दा पनि नबुझिकन र त्यसका दस्तावेजहरु राम्रोसँग अध्ययन समेत नगरीकन नेपाली जनतालाई गुमराहमा राखेर यो सम्झौता गरिएको हो । यो सम्झौता भित्र गम्भिर र गम्भिरतम राष्ट्रिय हित विपरितका कुराहरु छन । त्यो कुरा नसच्चिकन र ती कुराहरुमा सुधार नभइकन एमसीसी पास हुन सक्दैन । कतिपय कुराहरु मिल्दैनन् । त्यसमा जबर्जस्ती ठेल्न मिल्दैन । असहमतिको विषयमा बल प्रयोग गरेर हुन्छ ? धाक धम्की दिएर हुन्छ ? हुँदैन । यसको विरोध सरकारमा पनि हुन्छ । सडकमा पनि हुन्छ र सदनमा पनि हुन्छ ।’


उहाँका अनुसार एमसीसीलाई कसैले गिजोलेको नभई नेपालको हितमा, ध्यानमा राखेर सुरुमै एमसीसी सम्झौता भएको थिएन । नेता खनालले एमसीसी सम्झौतालाई संशोधन नगरी स्वीकार गर्न नसकिने बताउनुभयो । उहाँले सम्झौताभित्र राष्ट्रिय हितविपरीतका गम्भीर कुरा भएको भन्दै त्यसलाई सुधार नगरी पारित गर्न नसकिने बताउनुभयो ।