फाइल तस्वीर
काठमाडौं – आज बस्न लागेको प्रतिनिधिसभाको बैठकमा अमेरिकी अनुदान भनिएको एमसीसी पेश नहुने भएको छ । प्रतिनिधिसभाको बैठक सुरुहुनु अघि कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमसीसी परियोजनाको प्रस्ताव कार्यसूचीमा परेन । समितिको बैठकमा थारु आयोगको प्रतिवेदन र तीन वटा शोक प्रस्ताव पेश गर्ने कार्यसूची तय गरेको थियो ।

परामर्श समितिको बैठकमा कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले धेरै ढिला भएको भन्दै एमसीसी संसदमा पेश गर्नुपर्न जोड दिनुभएको थियो । गृहमन्त्री बालकृष्ण खाँणले समेत एमसीसीलाई अगाडि बढाउन पर्नेमा आफ्नो मत राख्नुभएको थियो ।

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले अहिले संसदमा प्रतिपक्षले अवरोध गरिरहेकाले छलफलको वातावरण नरहेको भन्दै पहिले छलफलको वातावरण बनाउनु पर्नेमा जोड दिनुभएको थियो । एमसीसी जस्तो राष्ट्रिय महत्वको विषयमा छलफलको वातावरण बनाउनु पर्ने भन्दै बैठकमा तत्काल पेश नगर्न आग्रह गर्नुभएको थियो ।

नेपाली काङ्ग्रेसको हिजो बसेको संसदीय दलको बैठकमा आज बुधबार एमसीसी संसदको बैठकमा पेश गर्ने निर्णय गरेको थियो । नेकपा माओवादी केन्द्रको आज बिहान सिंहदरबारमा बसेको संसदीय दलको बैठकले एमसीसीको विपक्षमा निर्णय गरेको थियो । दलको बैठकपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्नु भएको थियो । सो भेटले बिहीबार दिउँसो ३ बजे सत्ता गठबन्धन दलको बैठक बोलाउने निर्णय गरेको छ । उक्त बैठकले एमसीसीबारे निर्णय गर्ने बताइएको छ ।

संसदभित्र कार्य व्यवस्था समितिको बैठक भइरहँदा बाहिर सत्तारुढ माओवादी केन्द्र र एकीकृत समाजवादी समर्थित युवा–विद्यार्थीहरुसँगै अन्य ६ दल तथा मोर्चालगायतले एमसीसीविरुद्ध प्रदर्शन गरिरहेका छन् । छ दलले आज नेपाल बन्दको कार्यक्रम राखेता पनि राजधानीमा बन्दको प्रभाव भने खासै परेको छैन ।