काठमाडौं – सरकारले अमेरिकी सहायता परियोजना एमसीसी सदनमा टेबुल गर्न लागेको भन्दै त्यसको विरोधमा पाँचवटा कम्युनिस्ट पार्टी र एउटा मोर्चा गरी छ वटा पार्टीले आज नेपाल बन्दको घोषणा गरेको छ ।

मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपालले आज नेपाल बन्दको घोषणा गरेका हुन् ।

यसैक्रममा बन्दको उल्लङ्घन गरेको भन्दै काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट बन्दकर्ताहरू पक्राउ परेका छन् । नेपाल बन्द उल्लङ्घन गरेको भन्दै कोटेश्वरमा ट्याक्सी जलाउन खोज्ने एक जनासहित उपत्यकाका विभिन्न स्थानबाट २३ जनालाई नियन्त्रणमा लिइएको नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ । काठमाडौंमा सवारीका साधनहरू सञ्चालनमा केही कमी देखिएता पनि बन्दको प्रभाव भने खासै परेको देखिंदैन । उपत्यकाका बजार व्यवसायहरु निर्वाध रुपमा खुलेका छन् ।