फाइल तस्वीर
काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले भोलि बुधबार संसदमा अमेरिकी मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) पेश हुने कुरामा प्रधानमन्त्री शेरबहादुर देउवा विश्वस्त रहेको बताउनु भएको छ ।

महामन्त्री थापाले नयाँबानेश्वरस्थित संसद भवनमा आयोजित संसदीय दलको बैठकपछि पत्रकारहरुसँगले सोधेको प्रश्नको जवाफ दिने क्रममा उक्त कुराको जानकारी गराउनु भएको हो । महामन्त्री थापाले संसदीय दलको बैठकमा पार्टी सभापति एवम् प्रधानमन्त्री देउवाले एमसीसीका बारेमा नाफा घाटा केही नहेरी संसदबाट पारित गर्नुपर्छ भन्ने प्रस्तावलाई अघि बढाउने जानकारी गराउनु भएको बताउनु भएको थियो ।

यसअघिको सरकारले गरेका कामको तिथिमिति स्मरण गर्दै महामन्त्री थापाले मन्त्रिपरिषद्बाट पारित भएको प्रस्तावलाई संसदमा पेश गर्न लागिएको बताउनु भयो । उहाँले पार्टीले प्रतिपक्षमा र सरकारमा रहँदा दोहोरो चरित्र नदेखाएको भन्दै तात्कालीन नेकपाको सरकार रहँदा मन्त्रिपरिषद्बाट गरिएको निर्णयमा नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले पनि एमसीसी संसदबाट अनुमोदन गर्न सहयोग गर्ने विश्वास प्रधानमन्त्रीले लिनुभएको बताउनु भयो ।

‘केपी शर्मा ओली नेतृत्वमा रहेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकार र मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) बीचमा भएको अनुदान सहयोग सम्झौतालाई अनुमोदनको लागि मन्त्रिपरिषदमा पेश गर्ने र अनुमोदन भइसकेपछि दातृ निकायलाई जानकारी गराउने भनेर जुन प्रस्ताव पारित ग¥यो, पारित गरेको प्रस्तावले २०७६ साल असारको ३० गते अनुमोदनको लागि संसदमा दर्ता गरायो। त्यो दर्ता गरेको विधेयकलाई हामीले २०७६ साल पौष १५ गते, जतिबेला नेपाली कांग्रेस प्रतिपक्षमा थियो, त्यही बेलामा पनि हामीले संसदमा दर्ता भइरहेको प्रस्तावलाई तत्काल छलफलमा लगेर अनुमोदन गर्नुपर्छ भनेको हो’ महामन्त्री थापाले पत्रकारहरुसँग भन्नुभयो ।

महामन्त्री थापाले ‘आज नेपाली कांग्रेसको संसदीय दलले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको मन्त्रिपरिषद्ले संसदमा दर्ता गरेको यो प्रस्तावलाई तत्काल संसदमा टेबल गरेर यसलाई अनुमोदनको प्रक्रिया अघि बढाउनु पर्छ भनेर माग गर्ने निर्णय गरेको छ । योसँगै के विश्वास पनि प्रकट गरेको छ भने केपी ओली नेतृत्वमा रहेको नेकपाका जतिपनि माननीयज्यूहरु हुनुहुन्थ्यो अहिले फरक पार्टीमा हुनुहुन्छ । उहाँहरुको संयुक्त सरकारले त्यो बेलामा मन्त्रिपरिषद्बाट पारित गरेर संसदमा दर्ता गराएको विधेयक संसदमा अनुमोदनका लागि प्रस्ताव हुँदैगर्दा एमाले समेत एमसीसीकै पक्षमा उभिन्छ । माओवादी केन्द्र र एकीकृत समाजवादी पनि पक्षमा नै उभिन्छ भन्ने कुराको विश्वास पनि नेपाली काङग्रेसले लिएको छ’ भन्नुभयो ।