काठमाडौं – राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि देशभरका ४ हजार १ सय ५७ विद्यालय छनोट भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा सोमबार बसेको बैठकले कार्यक्रम सञ्चालनका लागि विद्यालयहरूको छनोट गरेको हो ।

शिक्षा मन्त्रालयका अनुसार छनोट भएका विद्यालयमध्ये ९ सय ७६ वटा विद्यालयमा ४ कोठे भवन, ९ सय ६६ विद्यालयमा दुई कोठे भवन निर्माण गरिनेछ । यस्तै, २ हजार १ सय ६ वटा विद्यालयमा आइसीटी ल्याब व्यवस्थापन, ८८ विद्यालयमा प्राविधिक ल्याब र २१ वटा विद्यालयमा नयाँ प्राविधिक शिक्षालय निर्माण गरिनेछ । चार कोठे भवन निर्माणका लागि प्रतिविद्यालय ३६ लाख, दुई कोठे भवन निर्माणका लागि १८ लाख, आईसीटी ल्याब व्यवस्थापनका लागि ६ लाख ५० हजार रकम उपलब्ध गराइनेछ ।

नयाँ प्राविधिक शिक्षालयका लागि ल्याब व्यवस्थापन तथा शिक्षण सहयोग अनुदान २१ विद्यालयलाई जम्मा ७० करोड ५९ लाख ६ हजार, प्राविधिक धार सञ्चालित विद्यालयमा ल्याब सुदृढीकरण तथा स्तरनोन्नितका लागि ८८ विद्यालयलाई ८८ करोड रकम छुट्याइएको छ । साथै, गत आर्थिक वर्षमा ल्याब व्यवस्थापनका लागि छुटेका १४ विद्यालयका लागि ३३ करोड ६० लाख रकम उपलब्ध गराइने मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति शैक्षिक सुधारका लागि ७ अर्ब ८५ करोड ५१ लाख रकम छुट्याएको छ । विद्यालय छनोट गरी बाँकी एक अर्ब ३८ करोड रकम बाँकी रहेका स्थानीय तहका विद्यालयमा छुट्याइने शिक्षामन्त्री देवेन्द्र पौडेलले बताउनुभयो । ‘देशभरका विद्यालयको भौतिक संरचना, आईसीटी व्यवस्थापन गर्ने अभियानमा छौं’ मन्त्री पौडेलले भन्नुभयो, ‘निवेदन दिन बाँकी रहेका पालिकाहरुलाई सम्बोधन गछौं ।’

देशका ७३७ स्थानीय तहबाट १३ हजार ४ सय ७३ विद्यालयले प्रस्ताव पठाएका थिए । जसमा ७ हजार ९ सय ८६ विद्यालयले भवन निर्माण, ४ हजार २ सय ३५ विद्यालयले आईसीटी ल्याब, १ सय १७ विद्यालयले नयाँ प्राविधिक धार, प्राविधिक विद्यालय ल्याब व्यवस्थापन १ सय ८८ र घेराबार खेलमैदानमा ९ सय ४७ विद्यालयले आवेदन दिएका थिए ।

कुन प्रदेशलाई कति

प्रदेश एकमा सबैभन्दा धेरै विद्यालयका भवन निर्माण हुने भएका छन् । प्रदेशगत वितरणको विवरण अनुसार प्रदेश १ मा १ सय ९८ विद्यालयमा ४ कोठे भवन, १ सय ७९ विद्यालयमा दुई कोठे भवन, ३ सय ४९ विद्यालयमा आईसीटी व्यवस्थापन, २४ विद्यालयमा प्राविधिक ल्याब र नयाँ प्राविधिक विद्यालय स्थापनामा ७ विद्यालय छनोट भएका छन् ।

यस्तै, लुम्बिनी प्रदेशमा १ सय ९५ विद्यालयमा ४ कोठे भवन, १ सय ३७ विद्यालयलमा दुई कोठे भवन, आईसीटी ल्याब व्यवस्थापनमा २ सय ८१ विद्यालय, प्राविधिक ल्याब १८ विद्यालयमा र नयाँ प्राविधिक विद्यालय स्थापना तीन विद्यालय छनोट भएका हुन् ।

मधेश प्रदेशमा १ सय ८० विद्यालयमा ४ कोठे भवन, १ सय ९७ विद्यालयमा २ कोठे भवन, २ सय ३५ विद्यालयमा आईसीटी ल्याब व्यवस्थापन, पाँच विद्यालयमा प्राविधिक ल्याब र नयाँ प्राविधिक विद्यालय स्थापनामा चार वटा विद्यालय छनोट भएका छन् ।

सुदूरपश्चिम प्रदेशमा १ सय ४१ विद्यालयमा चार कोठे भवन, १ सय ७९ विद्यालयमा दुई कोठे भवन, २ सय ७० विद्यालयमा आईसीटी व्यवस्थापन, ८ विद्यालयमा प्राविधिक ल्याब र विद्यालयमा नयाँ प्राविधिकमा एक विद्यालय छनोट भएका छन् ।

भूकम्पबाट प्रभावित बागमती प्रदेशका जिल्लाहरूमा १४ जिल्लामा भवनका लागि बजेट नहालिएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चुरामणि पौडेलले जानकारी दिनुभयो । चितवन बाहेकका १४ जिल्लामा र मदरसा, गुरुकुल र भुम्पबाट नबनेका विद्यालयमा ४ कोठे भवन २२ वटा, दुई कोठे भवन १२, आईसीटी ल्याब ४ सय ९१, प्राविधिक ल्याब १८ र नयाँ प्राविधिक विद्यालय स्थापना ४ छनोट भएका छन् ।

यस्तै, गण्डकीमा १ सय ३० विद्यालयमा ४ कोठे भवन, १ सय २५ दुई कोठे भवन, २ सय ५५ आईसीटी ल्याब, १३ प्राविधिक ल्याब छनोट भएका छन् । कर्णालीमा १ सय १० विद्यालयमा ४ कोठे भवन, १ सय ३८ मा दुई कोठे भवन, २ सय २५ विद्यालयमा आईसीटी ल्याब, प्राविधिक ल्याब दई र नयाँ प्राविधिक विद्यालय स्थापना दुई विद्यालय छनोट भएका छन् ।