फाइल तस्वीर

काठमाडौं – सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले सर्वोच्च अदालतको पूर्ण बैठक बोलाउनु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा निलम्बनमा परेपछि सर्वोच्च अदालत सञ्चालनका सम्बन्धमा छलफल गर्न कामु प्रधानन्यायाधीश कार्कीले बैठक आह्वान गर्नुभएको हो । आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध प्रतिनिधिसभामा महाभियोगको प्रस्ताव दर्ता भएपछि राणा निलम्बनमा पर्नुभएको छ ।

कामु प्रधानन्यायाधीश कार्कीले आज दिउँसो २ बजेका लागि सर्वोच्चको पूर्ण बैठक बोलाउनु भएको छ । उक्त बैठकमा अदालतका सम्बन्धमा विकसित पछिल्लो घटनाक्रम र अदालत सञ्चालन तथा न्यायपालिका सुधारका सम्बन्धमा छलफल हुने बताइएको छ । न्यायपालिका सुधारका लागि भन्दै न्यायाधीश हरिकृष्ण कार्की सम्मिलित समितिले दिएको प्रतिवेदन पूर्णतः कार्यान्वयन गर्ने र सर्वोच्च अदालतकै न्यायाधीश तथा नेपाल बार एसोसिएसनले उठाएको मागको सम्बन्धमा पनि छलफल हुने बताइएको छ ।

प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोगको प्रस्ताव दर्ता भएता पनि राणाको पूर्ण बहिर्गमन नभएसम्म नेपाल बारले कार्तिक ८ गतेदेखि सुरु गरेको आन्दोलन जारी राख्ने बारका अध्यक्ष पूर्णमान श्रेष्ठले बताइसक्नु भएको छ । यद्यपि नेपाल बारले अदालतको काम कारबाहीमा बाधा नपुग्ने गरी आन्दोलन जारी राख्ने जानकारी गराएको छ । नेपाल बारले सर्वोच्च अदालतका न्यायाधीशहरुलाई लिखितरुपमा पत्र लेख्दै मध्यान्ह १२ बजेसम्म इजलास नराख्न आग्रह गरेपछि नेपाल बारको अगुवाइमा १२ बजेसम्म सर्वोच्च अदालतभित्रै आन्दोलन हुँदै आएको छ । सर्वोच्चमा बारको अनुरोधलाई स्वीकार गर्दै १२ बजेपछि मात्रै इजलास बस्ने गरेको थियो ।