फाइल तस्वीर
काठमाडौं – प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलको बैठकलाई औचित्य नभएको बताएको छ । सभामुख अग्निप्रसाद सापकोटाले सोमबार दिउँसो २ बजे संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेताहरुलाई बोलाउनु भएको थियो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उक्त बैठकको कुनै औचित्य नभएको भन्दै बैठकमा सहभागी नहुने जनाएको छ । एमाले प्रचार विभागका उप–प्रमुख विष्णु रिजालले सभामुखले बोलाएको सर्वदलीय बैठकमा एमाले नजाने बताउनु भएको छ । ‘सभामुखले बोलाएको सर्वदलीय बैठकको कुनै औचित्य छैन, त्यसैले एमाले त्यस्तो बैठकमा जाँदैन’ उपप्रमुख रिजालले भन्नुभएको छ ।

नेकपा एमालेले सभामुख सापकोटा पदबाट हट्नुपर्ने माग गर्दै आएको छ । एमालेले पार्टीले कारवाही गरी निस्काशन गरेका १४ सांसदलाई सभामुखले कारबाही नगरेको भन्दै संसद बैठकमा निरन्तर अवरोधसमेत गर्दै आएको छ । त्यसो त एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा नै एमाले र सभामुखबीच राम्रो सम्बन्ध थिएन । ओलीले अमेरिकी सहयोग परियोजना ‘एमसीसी’ संसदमा टेबल गर्ने विषयमा मतभेद रहँदै आएको थियो । ओली प्रधानमन्त्री हुँदा एमसीसी प्रतिनिधिसभाको बैठकमा पेश गर्न नमान्दा तात्कालीन सभामुख कृष्णबहादुर महरामाथि योजनावद्ध रुपमा यौन प्रकरणको दोषी करार गरी सभामुखबाट नै राजीनामा दिनुपर्ने अवस्था आएको थियो ।

महरा पदमुक्त भई सापकोटा सभामुख भए पनि एमसीसी अघि बढ्न सकेन । यसबीच सर्वोच्चले एमाले र माओवादी केन्द्र एकता भई बनेको नेकपा (नेकपा) लाई वैधानिकता नदिएपछि फेरि दुई पार्टी छुट्टिए ।

ओलीले प्रधानमन्त्री हुँदा असंवैधानिक कदम चाल्दै दुई दुई पटकसम्म प्रतिनिधिसभा विघटन गर्दै आएपछि एमालेका तात्कालीन केही सदस्यहरु सहित १६५ जना सांसदहरुले सर्वोच्च अदालतमा संसद् पुनस्र्थापनाको माग गर्दै रिट दायर गरेका थिए । सर्वोच्च अदालतले संसद् पुनर्बहाली गर्दै नेपाली काङ्ग्रेसका सभापति शेरबहारदुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने फैसला गरेपछि ओली सत्ताच्यूत हुन पुग्नु भयो । त्यसलगतै एमाले विभाजित हुन पुगी माधवकुमार नेपालको अध्यक्षतामा नेकपा एकीकृत समाजवादी गठन भएको थियो ।

एमालेले एकीकृत समाजवादीका अध्यक्ष नेपालसहित १४ जना सांसदलाई कारबाही गरेको पत्र संसदमा दर्ता गरे पनि सभामुखले कारबाही नगरेको भन्दै सुरु भएको एमाले–सभामुखको दुश्मनी अहिलेसम्म मत्थर भएको छैन । यो मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ ।

सभामुख सापकोटाको निजी सचिवालयका अनुसार सर्वदलीय बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, नेमकिपा सांसद प्रेम सुवाल, जनमोर्चा सांसद दुर्गा पौडेल, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलगायतलाई बोलाइएको छ ।

सत्ता गठबन्धनका सांसदले आइतबार प्रधानन्याधीश चोलेन्द्र शमशेर राणविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि मुलुकको राजनीति तङ्रगित भएको छ । प्रमुख प्रतिपक्षी एमालेले महाभियोग प्रस्तावलाई षड्यन्त्रको संज्ञा दिँदै यसको प्रतिवाद गर्ने भनेको छ । एमालेले हिजो साँझ आकस्मिक रुपमा सचिवालयको बैठक बोलाएको थियो । हिजो बेलुका बालकोटस्थित ओली निवासमा बसेका सचिवालयको बैठकले संसदीय दलको बैठक आजका लागि बोलाएको छ । एमाले संसदीय दलको बैठक बस्दैछ ।