काठमाडौं – देशमा पश्चिमी वायुको आंशिक प्रभाव कामयमै रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भूभागमा आंशिक बदली रही तराईका केही भूभागमा हुस्सु र कुहिरो लागेको छ र बांकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

आगामी २४ घण्टामा खासै उल्लेखनीय मौसम परिवर्तन नभए तापनि बिहान र बेलुकीको समयमा चिसो हुने हुनाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । विभागका अनुसार सोमबार दिउँसो र राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

मंगलबार देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने मौसमविद्हरुले जनाएका छन्। उनीहरुका अनुसार देशको पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

त्यस्तै बुधबार देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।