काठमाडौं – सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवराले निकास नदिएपछि महाअभियोग दर्ता गरिएको बताउनुभएको छ ।

आज मधेसको राजधानी जनकपुरधाममा संवाददाताहरूसँग कुरा गर्दै प्रचण्डले न्याय क्षेत्रमा देखिएको अन्योल, अराजकता र बेथिति हटाउन प्रधानन्यायाधीश जवराले नै पहल गरून् भन्ने गठबन्धनको चाहना भए पनि उहाँले त्यसो नगरेपछि महाअभियोग ल्याइएको बताउनुभयो ।

‘केही समयदेखि नेपाली न्याय क्षेत्रमा देखिएको अन्योल, अराजकता र बेथिति दुःखद थियो । न्यायाधीश र अधिवक्ताहरू आन्दोलनरत थिए । हामीले यसको सहज निकास चाहेका थियौं । त्यसका लागि पहल पनि ग¥यौं,’ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भन्नुभयो,‘प्रधानन्यायाधीशले बिदा बसेर हुन्छ कि सबैलाई विश्वासमा लिएर हुन्छ निकास दिनुको साटो न्याय क्षेत्र झन् अराजक बन्न लागेपछि संवैधानिक प्रक्रिया थालिएको हो ।’

प्रचण्डले जवरामाथि महाअभियोग लगाउने विषयमा सत्तारूढ गठबन्धनका सबै दलहरू सहमत भएकाले यसले गठबन्धनलाई अझ बलियो बनाउने बताउनुभयो । ‘महाअभियोग लगाउनेमा सबैको सहमति छ । यसले गठबन्धनलाई अझ बलियो बनाउँछ,’ प्रचण्डले भन्नुभयो ।

सत्तारूढ गठबन्धनका तीन दलका ९८ जना सांसदले महाअभियोग प्रस्ताव दर्ता गरेपछि प्रधानन्यायाधीश जवरा आज आइतबारदेखि निलम्बनमा पर्नुभएको छ ।