फाइल तस्वीर
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमितिको बैठक फागुन ११ गते बुधबार बस्ने भएको छ । स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनोट, उम्मेदवार उठाउनका लागि नामावली तयार गर्ने मापदण्ड निर्धारण गर्ने र देशको समसामयिक विषयवस्तुमा समीक्षा हुने बताइएको छ ।

पार्टीको नीति, विचार, सिद्धान्त र कार्ययोजनाबारे आम जनतालाई जागरूक गराउन देशव्यापी घरदैलो कार्यक्रम सञ्चालन गर्ने रणनीति बनाएको राप्रपाले जिल्ला कार्यसमिति र स्थानीय तहअन्तर्गत समितिका सिफारिसमा फागुन मसान्तभित्र उम्मेदवार छनोट गर्ने भएको छ ।

फागुन महिनालाई प्रशिक्षणको महिनाका रूपमा गतिविधि सञ्चालन गर्ने र पार्टीको सङ्गठन सुदृढीकरण गर्ने भएकाले केन्द्रीय, प्रदेश र जिल्ला तहमा प्रशिक्षण कसरी सञ्चालन गर्ने विषयमा समेत छलफल हुने बताइएको छ । देशव्यापी रूपमा राजनीतिक कार्यक्रम सञ्चालन गरी स्थानीय तहको निर्वाचनमा पार्टीका सम्पूर्ण शक्ति परिचालन गर्ने तयारीसमेत राप्रपाले गरेको छ ।