फाइल तस्वीर
काठमाडौं– दुई ठूला कम्युनिस्ट घटकका शीर्ष नेतृत्वबीच अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट ‘एमसीसी’ का विषयमा टेलिफोन सम्वाद भएको छ । बिहीबार साँझ नेकपा माओवादी केन्द्र र एमालेका अध्यक्षद्वयबीच टेलिफोन सम्वाद भएको हो । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई एमसीसीबारे निर्णय लिन आग्रह गरेका छन् । प्रचण्डले ओलीलाई फोनमार्फत एमसीसीबारे निर्णयमा पुग्न आग्रह गरेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए । प्रचण्डले ओलीलाई गरेको आग्रह उद्धृत गर्दै रिजालले भने, ‘एमसीसीमा तपाईंले निर्णय नगरी भएन ।’

ओलीले पहिले आफूले निर्णय गर्न प्रचण्डलाई जवाफ फर्काएको रिजालको भनाइ छ । ‘तपाईंहरूले पहिले केपी ओलीलाई हटाएपछि पारित गर्छौं भनेर बचन दिनुभएको छ, हटाइसकेपछि ‘४÷५ महिनामा पारित गर्छौं’ भनेर लिखित कागज नै गर्नुभएको रहेछ,’ ओलीको भनाइ उद्धृत गर्दै उनले लेखेका छन्, ’अहिले सत्ता चलाइरहनुभएको छ, प्रतिनिधिसभामा १ सय ६५ सदस्य छन् । पहिले आफूले निर्णय गर्नूस् । नेकपा (नेमाले) त निर्णय गरिहाल्छ ।’

माओवादीमा संशोधन विना एमसीसी पास गर्न नहुने मत बलियो छ भने एमालेले सरकार निर्णयमा पुगेपछि आफ्नो धारणा बनाउने अडानमा छ । तर सत्ताको नेतृत्व गरेको नेपाली काँग्रेस एमसीसी पास गर्ने निष्कर्षमा पुगिसकेको छ । काङ्ग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै हालतमा एमसीसी पास गर्नेगरी अगाडि बढेको अवस्था छ ।

यसैबीच अमेरिकाले एमसीसी पास गर्न दवाव दिएको छ । प्रमुख तीन दलका शीर्ष नेताहरुलाई अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले फोनमार्फत् कुरा गर्दै तत्काल एमसीसीको अनुदान लिने विषयमा निर्णय गर्न दवाव दिएका छन् । यदि नेपालले एमसीसी अनुदानलाई नगरे अमेरिकाले नेपाल नीतिप्रति पुनर्विचार गर्ने भन्दै चेतावनी दिएका छन् ।

अमेरिकी सहायक विदेशमन्त्री लुले विशेषगरी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चेतावनी दिएको सार्वजनिक भएको छ । प्रचण्डलाई एमसीसी पास गर्ने नगर्ने के हो तत्काल निर्णय लिनु भन्दै यदि एमसीसीलाई लिनुभएन भने हामी यसलाई गम्भीरतापूर्वक लिन्छौ भनि चेतावनी दिएका छन् । अमेरिकाले नेपालले भनेजस्तै एमसीसीका बुँदाहरु परिवर्तन नगर्ने र समय पनि थप नगर्ने भनेको छ ।

अनुदान भन्नेकुरा सहयोग हो । अनुदानमा कुनै शर्त हुँदैन । तर अमेरिकाले एमसीसी लिनै पर्ने दवाव दिनुलाई अर्थपूर्ण रुपमा हेर्न थालिएको छ । एमसीसी सम्झौतामा लेखिएका बुँदा हेर्दा नेपालको राष्ट्रियता नै खतरामा पर्ने प्रष्ट देखिएको छ । नेताहरुको गैह्र जिम्मेवारी, सत्ता र कमिशनको लोभमा परेर एमसीसी सम्झौता गरेको प्रष्ट छ । अमेरिकी सहायक विदेशमन्त्री लुले एमाले अध्यक्ष ओलीलाई ‘एमसीसी पास गर्न तपाईंले सहयोग गर्नुहोस्, अनुमोदन नभएर राम्रो नहुने भनि चेतावनी दिएका छन् ।

नेपालको कुटनीतिक फितलो भएका कारण देशमा विदेशी हस्तक्षेप बढेको कुरा अमेरिकी दवावले छताछुल्ल बनाएको छ । राष्ट्रवादको खोक्रो नारा लगाएर हुँकार गर्ने राजनीतिक दलका नेताहरु अहिले पानीमाथिको ओभानो भन्ने कसरत गरिरहेको देखिन्छ । प्रधानमन्त्री देउवालाई पाँचदलीय गठबन्धनका चार घटकहरुले एमसीसी अनुमोदन गर्न नमानेपछि विकल्प खोज्दै छन् ।

सत्ता साझेदार चार दल गटबन्धन सरकारबाट बाहिरिए एमालेको नेतृत्वमा सरकार बनाउन नेपाली काङ्ग्रेस तयार हुने र एमाले र काङ्ग्रेस मिलेर एमसीसीलाई संसदको बहुमतबाट अनुमोदन गराउने चर्चा पनि चल्न थालेको छ । एमाले जसरी पनि पाँच दलीय गठबन्धनलाई तोड्न चाहिरहेको बेला एमसीसीलाई उसले हतियार बनाएको छ । काङ्ग्रेस भित्रकै प्रतिपक्षी डा. शेखर कोइराला समूहलाई ओलीले गठबन्धन तोड्नलाई विभिन्न प्रलोभन देखाइरहेका छन् ।