फाइल तस्वीर

काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेस पार्टीको कार्यसम्पादन समिति बैठक पार्टी कार्यालय सानेपामा बस्ने भएको छ । हिजो बिहीबारकै बैठकको निरन्तरता भनिएको बैठक दिउँसो २ बजे बस्ने छ । बिहीबार बसेको कार्यसम्पादन समिति बैठकको जानकारी दिने सन्दर्भमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै नेपाली काङ्ग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले संसद्मा अमेरिकी सहयोग ‘एमसीसी’ लाई टेबुल गर्नका लागि सभामुख अग्निप्रसाद सापकोटाले ले रोक्न नपाउने दावी गरेका छन् ।

प्रवक्ता महतले ‘सरकारको तर्फबाट पेस भएका विधेयकहरू छलफल संसदमा गर्नुपर्छ । महत्वपूर्ण प्रस्तावहरू अन्य प्रस्तावहरू आउँछ त्यो विशेष सदनमा प्रवेश गराइदिने । उहाँले यो प्रवेश गराउँछु, यो गराउन्न भन्न उहाँले मिल्दैन । यो विषय उहाँले प्रवेश गराउनुपर्छ, भनेका थिए ।


प्रवक्ता महतले हिजै सत्ता घटक दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका अध्यक्षद्वयले एमसीसी अनुमोदन गर्न सहमत भएको सार्वजनिक गरेका छन् । तर पाँच दलीय सत्तागठबन्धन दल नेपाली काङ्गे्रसबाहेक नेकपा माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनर्मोचाले एमसीसी पास नहुने बताइसकेका छन् । तर काङ्ग्रेस प्रवक्ता डा. महतले एमसीसी संसदमा छलफल भए बहुमतबाट पास हुने दाबी गरेका छन् ।


पछिल्लो समय एमसीसी बहस पेचिलो बन्दै आएको छ । एमसीसी प्रकरणले सत्ता साझेदार दलहरुबीच मतभेद भएका कारण गठबन्धन टुट्न सक्ने बलियो सम्भावना देखिएको छ । प्रमुख प्रतिपक्ष दल एमाले एमसीसी प्रकरणमा बल्छि थापेर पाँच दलीय सत्ता गठबन्धन तोड्ने खेलमा लागेको छ ।