फाइल तस्वीर
काठमाडौं – नेपाली काङ्ग्रेसले संसद्मा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) टेबुल हुने बताएको छ । काङ्ग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बिहीबार पार्टी कार्यालय सानेपामा बसेको काङ्ग्रेस पदाधिकारी बैठक सकिएपछि पत्रकारहरुसँग बोल्दै एमसीसी संसद्मा टेबुल हुने र बहुमतले पास हुने बनाएका छन् ।

प्रवक्ता महतले आफ्नो धारणा व्यक्त गर्दै भने ‘एमसीसी सभामुखले रोक्न मिल्दैन । उहाँको क्षेत्राधिकार संविधानमा तोकिएको छ । त्यसैले सरकारले एमसीसी टेबल गर्छ र बहुमतले पारित पनि हुन्छ ।’ प्रवक्ता महतले एमसीसीका बारे फैलाइएको भ्रम पनि संसदबाटै चिरिने भन्दै आगामी संसद् बैठकमा सरकारले एमसीसी टेबल गर्नुपर्छ भन्ने पार्टीको निश्कर्ष रहेको बताएका छन् ।

पत्रकारहरुले सोधेको प्रश्नको उत्तर दिंदै प्रवक्ता महतले भने ‘त्यसका लागि काङ्ग्रेसले अन्य दलसँग पनि छलफल गरिरहेको छ । गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि पास गर्छौ भन्नुभएको छ ।’

बिहीबारको बैठकमा स्थानीय निर्वाचनमा काङ्ग्रेसलाई सशक्त बनाउने भ्रातृसंस्था र शुभेच्छुक संस्थाको म्याद सकिएकाले कहिले निर्वाचन गर्ने भन्नेबारेमा छलफल भएको प्रवक्ता महतले बताए । बिहीबारको बैठकमा सात आठ जनाले एमसीसीबारे धारणा राखेका थिए । बैठक भोलि शुक्रबार पनि बस्ने भएको छ ।