काठमाडौं – सत्ता गठबन्धनको प्रमुख घटक नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को शुक्रबार र शनिबार गरी दुई दिन बस्ने भनिएको केन्द्रीय समिति बैठक स्थगन गरेको छ । मुलुमा कोरोना भाइरसको सङ्क्रमण निकै घटिरहेको बेला महामारीको कारण देखाउँदै बैठक स्थगित गरेको हो ।

यसअघि माघ २७ गतेका लागि बोलाइएको बैठक बस्ने ठाउँ तय नभएका कारण माघ २८ र २९ गतेका लागि सारिएको थियो । बैठक कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा बस्ने तय भएको थियो । माओवादीले बैठक सुरुहुन एक दिन अघिमात्रै बैठक स्थगित भएको जनाएको छ । स्थगित भएको केन्द्रीय समितिको बैठक कहिले हुने भन्ने बारेमा कार्यालय मौन रहेको छ ।

माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) का विषयमा के कसरी अगाडि बढ्ने भन्ने विषयमा पार्टीको धारणा स्पष्ट गर्र्न र पार्टीको पदाधिकारी चयनबारे छलफल गर्ने एजेण्डा तय भएको थियो ।